विराटनगर–११ जनपथ टोलमा रहेको कपडाको थोक (होलसेल) पसल गर्ने स्वस्तिका ट्रेड एन्ड सप्लायर्समा राजस्व अनुसधान विभागको टोलीले छापा मारेको छ ।

आइतबार विभागको टोलीले छापा मानेर सप्लायर्सको कागजपत्र बरामद गरेको छ । विभागले भन्सारबाट आयात भएको परिमाणअनुसार मालवस्तुको गणना सुरु गरेको छ । टोलीले आयात र बिक्री वितरण गरेको बिलबिजक बरामद गरी अनुसन्धान सुरु गरेको छ ।

विभागको टोलीले एकवर्षको अवधिमा यो सप्लायर्समा छापा मारेको दोस्रो पटक हो । यसअघि स्थानीय प्रशासन र आन्तरिक रजस्व कार्यालयले पनि छापा मारेर स्टक परिमाणको अध्ययन गरेको थियो । यसअघि गरिएको छापामा आन्तरिक राजस्व कार्यालय र विभागको टोली रित्तो हात फर्केको सप्लायर्सका सञ्चालक सञ्जीव भगतको दाबी छ । सुती र पप्लिन कपडाको कारोबार गर्ने यो सप्लायर्समा हाल १४ करोडको सुती र पप्लिन कपडा स्टक रहेको भगतले बताए । सबै सामान भन्सार तिरेर आयात गरिएको उनको दाबी छ ।

भन्सार छलेर आयात गरिएका सामान स्टक हुने गरेको सूचनाका आधारमा विभागको टोली आफै आएर आयात परिमाण, खरिद–बिक्री खाता र स्टक परिमाणको अनुसन्धानसँगै कागजातका आधारमा स्टक गणना गरेको राजस्व विभाग स्रोतले बतायो ।

अहिले राजस्व अनुसन्धान विभागबाट आएको टोली आएर अनुसन्धान सुरु गरेको राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख सुरेश आचार्यले बताए । विभागबाट आएको टोलीले शुक्रबार पनि विराटनगरको भन्सार एजेन्टका सहयोगीले सञ्चालन गरेको फर्ममा छापा मारेको छ । भन्सार छली गरी चोरी तस्करीमार्फत् कपडा ल्याएको सूचनाको आधारमा विभागले छापा मारेर अनुसन्धान गरेको बुझिएको छ । राजस्व अनुसन्धान विभागका तीन सदस्यीय टोली अहिले कोशी प्रदेशमा आइपुगेको छ ।

अनुसन्धान अधिकृतसहितको टोलीले भन्सार छली गरेको पर्याप्त सूचनाको आधारमा अहिले मोरङ र सुनसरीका विभिन्न फर्महरूमा छापा मार्दै कागजपत्र जफत गरी अनुसन्धान गर्दै आएको छ ।