मोरङको उत्तरी क्षेत्र लेटाङको सामुदायिक वनमा ‘लाहा’ को खेती हुने सम्भावना बढेको छ । डिभिजन वन कार्यालय मोरङले निरीक्षण गर्दा लेटाङ नगरपालिका–८ स्थित लालहीरा सामुदायिक वनभित्रको जङ्गलमा ‘लाहा’ भेटिएपछि यस्तो सम्भावना देखिएको हो । 

राम्रो आम्दानी लिन सकिने भएपछि लालहीरा सामुदायिक वनले व्यावसायिक रूपमा लाहा खेती गर्ने प्रक्रिया अगाडि बढाएको अध्यक्ष धनबहादुर राईले बताए । यहाँको सामुदायिक वनभित्र शिरिष, मौवा, बयर, पड्के प्रजातिमा लाहा भेटिएको छ । लाहा प्राकृतिकरूपमा रुखमा भेटिने एक प्रकारको किरा हो । यसबाट ‘चप्रा’ लगायतका विभिन्न वस्तुहरू उत्पादन गर्न सकिन्छ । चप्रा फर्निचर उद्योग र सुन पसलमा प्रयोग गरिन्छ । लाहा वनमा भेटिएपछि यसको संरक्षण गर्ने र व्यावसायिकरूपमा खेती गर्ने तयारी गरिएको अध्यक्ष राईले बताए ।

‘सामुदायिक वनभित्र शिरिष र मौवा प्रजातिका ठूला रुखहरूमा लाहा भेटिएको छ’ उनले भने, ‘यसको संरक्षण गर्ने र व्यावसायिकरूपमा खेती गरेर वनको आम्दानी बढाउने विषयमा बैठक बसेर निर्णय पनि भएको छ ।’ डिभिजन वन मोरङबाट पनि यस विषयमा सुझाव आएपछि लाहाको खेती गर्ने विषयमा अगाडि बढेको उनले सुनाए । 

केही दिनअगाडि डिभिजन वन कार्यालय मोरङका डिभिजन वन अधिकृत विष्णुलाल घिमिरेले उक्त वनको निरीक्षण गरेका थिए । त्यस क्रममा शिरिष, मौवा, बयर, पड्के प्रजातिमा लाहा भएको पुष्टि भएको थियो । लाहा पहाडीक्षेत्रमा अलि बढी खेती हुने गर्दछ । तराई क्षेत्रको लेटाङमा पहिलो पटक लाहा भेटिएको डिभिजन वन अधिकृत घिमिरेले बताए । लाहा खेती गरेर राम्रो आम्दानी लिन सकिने उनले बताए । खयर, बयरलगायतका वनस्पतिमा प्रशस्त मात्रामा लाहा खेती गर्न सकिने उनले बताए ।

‘लाहा खेती विस्तार गर्नसके यसको माग र आवश्यकता व्यापक रहेको छ । लाहाबाट चप्रा उत्पादन गर्ने उद्योग छन्’ उनले भने, ‘चप्रा उत्पादन गर्ने उद्योगहरूले अहिले करोडौँ रुपैयाँको लाहा आयात गर्ने गरेका छन् ।’ लाहाको बजारीकरणमा पनि कुनै समस्या नरहेको उनले बताए । किसानलाई लाहा खेतीबारे जानकारी दिन झापा, धनकुटा र सङ्खुवासभाबाट लाहाको खेती गरिरहेका अगुवा किसान तथा विज्ञहरूलाई ल्याएर यसको बजार तथा खेती गर्ने तरिकाबारे जानकारी दिने उनले बताए । लाहा खेती गर्न इच्छुक निजी तथा सामुदायिक वनका उपभोक्ताहरूको तथ्याङ्क सङ्कलन गरेर खेती विस्तारलाई जोड दिने तयारी पनि गरिएको उनले बताए । आवश्यक परे किसानहरूलाई अध्ययन भ्रमणसमेत गराउने योजना रहेको उनको भनाइ छ ।

‘पहाडी जिल्लाहरू भोजपुर, सङ्खुवासभामा लाहा खेतीका लागि धेरै क्षेत्रहरू उपयोगी छन् । यसको व्यावसायिक खेती गर्नसके वन पैदावरको सरक्षणसँगै आयस्तरलाई वृद्धि गर्न सकिन्छ’ उनले भने, ‘यहाँका किसानहरूलाई खेती प्रविधिको विषयमा जानकारी दिएर व्यावसायिक बनाउने योजना रहेको छ ।’

आम्दानी राम्रो हुने भएकोले यस खेतीप्रतिको आकर्षण बढ्ने उनले बताए । किसानहरूलाई आयआर्जनमा जोड्न सकिने साथै खेर गइरहेका जमिनहरूको सदुपयोग हुने भएकाले लाहाको खेतीमा जोड दिनुपर्ने उनले बताए । ‘मोरङको वनमा पहिलो पटक लेटाङमा लाहा भेटिएको छ । लालहीरा सामुदायिक वनमा लाहा खेती गर्न सकिन्छ’ उनले भने, ‘यसलाई सफल बनाउन हामी पनि योजनाबद्धरूपमा काम गर्छौं । बजारीकरणको लागि कुनै समस्या छैन ।’

बजारमा लाहाको माग धेरै रहेको झापामा लाहाको उद्योग सञ्चालन गरिरहेका डम्बर विश्वकर्माले बताए । जति उत्पादन भए पनि उत्पादित लाहाको जिम्मा आफूले लिने उनको भनाइ छ । ‘अहिले पनि लाहाको बजार मागलाई धान्न सकिएको छैन । नेपालमा यसको खासै खेती हुँदैन । अहिले पनि भारतको बजारबाट लाहाको खरिद गर्नुपर्ने अवस्था छ’ उनले भने, ‘तेह्रथुम, भोजपुर, धनकुटा, झापा र सङ्खुवासभालगायत ठाउँबाट पनि केही मात्रामा लाहाको कच्चापदार्थ ल्याउने गरेको छु ।

त्यसैले जति पनि लाहा उत्पादन हुन्छ, त्यसको बजारको जिम्मा म लिन्छु । यसबाट हामीले आयस्तरलाई राम्रो बनाउन सक्छौँ भने भारत जाने करोडौँ रुपैयाँलाई नेपालमा रोक्न सक्छौँ ।’ भारतमा १५ वर्षभन्दा बढी लाहा उत्पादन गर्ने कम्पनीमा काम गरेर त्यसको अनुभवको आधारमा नेपालमै उद्योग खोलेको विश्वकर्माले बताए ।

लाहालाई खयर, बयर, मौवा प्रजातिका रुख बिरुवासँगै सामिया लता जातको बिरुवालाई विस्तार गरेर व्यावसायिकरूपमा खेती गर्न सकिने उनको भनाइ छ । ‘खयर, बयर नभएका स्थानमा सामिया लता जातको बिरुवा विस्तार गरेर लाहाको व्यावसायिक खेती गर्न सकिन्छ ।

यस्ता जातका बिरुवामा लगाएको लाहाले १० वर्षसम्म आम्दानी लिन सकिन्छ’ विश्वकर्माले भने, ‘यसबाट कुसुमी जातको लाहा उत्पादन हुन्छ । जुन लाहाको मूल्य र माग रङ्गिनी जातको लाहाभन्दा धेरै बढी छ । यसबाट दुई पटक लाहा सङ्कलन गर्न सकिन्छ । यो प्रजातिको बिरुवा बढीमा पाँचदेखि सात फिट उचाइ हुने भएकाले सङ्कलन गर्न सजिलो छ भने उत्पादन पनि राम्रो लिन सकिन्छ ।’

लाहाको कच्चापदार्थ प्रतिकिलो २ सय ५० देखि ८ सय रुपैयाँसम्म र यसको प्रशोधन गरेपछि प्रतिकिलो एक हजार ८ सय देखि दुई हजार रूपैयाँसम्म बिक्री हुने गरेको विश्वकर्माले जानकारी दिए । फर्निचर कारखाना, सुन पसललगायत अन्य विभिन्न काममा प्रयोग हुने लाहा भारतीय बजारबाट आउने गरेको उनको भनाइ छ । १५ देखि ३५ डिग्रीसम्मको तापक्रममा यसको खेती हुन्छ । मोरङको राजमार्गदेखि उत्तर क्षेत्रमा लाहा खेती हुने विज्ञहरूले बताएका छन् ।

अहिले गौरादहमा १० हजार बिरुवा लगाएको छ । हाल झापामा व्यावसायिक खेती सुरु गरिएको छ । एउटा बिरुवामा पहिलो वर्ष २ सय ५० ग्राम लाहा उत्पादन हुने गरेको छ । किरा छोडिएको ६ महिनाभित्रमा लाहा उत्पादन हुने गर्दछ ।