कोशी प्रदेशमा एचआइभी सङ्क्रमितहरुको सङ्ख्या ३ हजार ५ सय रहेको छ । धरान पोजेटिभ समूहको तथ्याङ्कअनुसार ती मध्ये ३ हजार सङ्क्रमित पत्ता लागेका छन् । एआरटी (एन्टाइरट्रोभाइरल थेरापी) सेवा लिइरहेका हरुको सङ्ख्या २ हजार ४ सय ३५ रहेको छ । सुनसरी जिल्लामा मात्र १ हजार ८ सयको हाराहारीमा एचआईभी सङ्क्रमित भएको अनुमान छ । ती मध्ये १ हजार ७ सय ५९ सङ्क्रमित पत्ता लागेका छन् । एआरटी सेवन गरिरहेका सङ्क्रमितको तथ्याङ्क ८ सय ९८ रहेको धरान पोजेटिभ समूहले जनाएको छ ।

***

आज डिसेम्बर १ । विश्व एड्स दिवस । एचआईभी सङ्क्रमितहरुले शिक्षा, स्वास्थ्य उपचार र रोजगारीमा विभेद भोगिरहेको गुनासो गरेका छन् । सङ्क्रमितमाथिको असमान व्यवहार आज पर्यन्त भोगिरहनु परेको सङ्क्रमितहरुको गुनासो छ । 

विश्व एड्स दिवसको पूर्वसन्ध्यामा धरानमा बिहीबार आयोजित अन्तक्र्रियामा एचआइभी सङ्क्रमितले अझै पनि विभेद कायमै रहेको बताए । राष्ट्रिय एचआईभी तथा एड्स महासङ्घ कोशी प्रदेशको आयोजना तथा स्केल इनिसिएटिभको सहयोगमा आयोजित अन्र्तक्रियामा विदेभ अन्त्यको आवाज उठाउन थालेको २ दशक बितिसक्दा समेत सङ्क्रमितहरुले समाजमा खुल्न नसकेको गुनासो पोखे । 

एचआईभी सङ्क्रमित भएकै कारण राज्यले प्रत्याभूत गरेको गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य उपचार र रोजगारीबाट अझै पनि बञ्चित हुन बाध्य रहेको महासङ्घका कोशी प्रदेशका सुपरभाइजर रोमनकुमार राईले बताए ।  ‘यो विभेद अन्त्य गर्न केन्द्र, प्रदेश र स्थानीय सरकारले ठोस नीति बनाएर व्यवहारमा उतार्नुपर्छ ।’ अन्तक्र्रियामा सुपरभाइजर राईले भने । 

एचआईभी सङ्क्रमणबारे सबै शिक्षित र जानकार भए पनि व्यवहारिक शिक्षाको कमिले समस्या भएको उनको भनाइ छ । ‘एचआईभी सङ्क्रमित समुदायहरुलाई प्राथामिकतामा राखेर ठोस नीति बनाई कार्यान्वयन गर्नुपर्ने देखिन्छ,’ सुपर भाइजर राईले भने, ‘एचआईभी सङ्क्रमणको विषयमा सबै शिक्षित र जानकार भए पनि यसको भावना र मर्ममा साथै व्यवहारिक शिक्षाको कमि देखिएको छ । तीन तहका सरकारलगायत सबै सरोकारवाला निकाय पनि जिम्मेवार हुनु पर्छ ।’ 

शिक्षामा विभेद

उच्च शिक्षा अध्ययनका लागि योग्यता र क्षमता भए पनि पहुँचबाट बञ्चित रहेको सङ्क्रमित विद्यार्थीहरुले गुनासो पोखेका छन् । ‘हामीले चाहेर पनि विदेशमा गएर पढ्न सक्दैनौं । क्षमता, योग्यता भएर पनि एचआइभी पोजेटिभ भनेपछि जान पाउदैनौं ।’ सङ्क्रमित विद्यार्थी एक छात्राले भनिन्, ‘सङ्क्रमित भएकै कारण अध्ययनमा छात्रवृत्ति पनि नपाउने, सङ्क्रमित भएपछि वहाना बनाएर स्कुलबाट निकाल्न खोज्ने जस्ता विभेद अझै पनि कायम छ ।’

आर्थिक अभावले पढ्न समस्या भोगिरहेका सङ्क्रमित विद्यार्थीलाई पढाउन स्थानीय सरकारले बजेट विनियोजन गर्नुपर्ने उनको भनाइ छ ।

स्वास्थ्य सेवामा कठिनाइ

प्रदेशका सरकारी अस्पतालमा सङ्क्रमितहरुले स्वास्थ्य सेवा प्राप्त गर्न सकिरहेका छैनन् । सङ्क्रमितले सबै प्रकारको सेवा नपाउने सुपरभाइजर राईले बताए । 

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र क्रोनोस्कपी सेवाबाहेक एचआइभी सङ्क्रमितलाई सबै स्वास्थ्य उपचार सेवा उपलब्ध छ । तर, अन्य सरकारी अस्पतालहरुमा सेवा उपलब्ध नहुँदा विभिन्न जिल्लाबाट सङ्क्रमितहरु उपचारका लागि धरानस्थित बिपी प्रतिष्ठानमा रिफर भएर आउने गरेका छन् । 

सुपरभाइजर राईका अनुसार सङ्क्रमित महिलाले चिकित्सकको निगरानीमा सुरक्षित तरिकाले बच्चा जन्माउने विधि (पिएमटिसिटी) पनि प्रतिष्ठान र कोशी अस्पताल विराटनगरमा मात्र छ । 

‘कोशी अस्पतालमा पिएमटिसिटी बाहेक सर्जरी, इण्डोस्कोपी, क्रोनोस्कोपी, डाइलाइसिस केही पनि उपचार सेवा एचआइभी सङ्क्रमितलाई छैन,’ उनले भने, ‘जिल्लाका अस्पतालहरुमा चेकजाँचबाहेक कुनै पनि उपचार सेवा सङ्क्रमितले पाउँदैनन् । रिफर भएर धरान ल्याउँदै गर्दा कतिपय साथीहरुको बाटोमै मृत्यु हुन्छ ।’

रोजगारीमा विभेद

एचआईभी सङ्क्रमितले रोजगारीमा पनि विभेद भोग्नु परिरहेको बताएका छन् । कुनै पनि रोजगारको क्षेत्रमा क्षमता, योग्यता भएर पनि सङ्क्रमित भएकै कारण जागिरबाट बञ्चित हुनुपर्ने उनीहरुले गुनासो पोखे । जसको कारण एकल महिला, दलित, आर्थिक विपन्न भएका एचआईभी सङ्क्रमितको अवस्था दयनीय छ । 

धरानमै पनि सङ्क्रमित भएको थाह पाउँदा सेक्युरिटी गार्डलाई निकालिएको र आफूहरुले कुरा गरे पनि पुनर्बहाली भएको सुपरभाइजर राईले जानकारी दिए । उनका अनुसार आप्रवासी, एचआईभी सङ्क्रमित बच्चाहरुको जन्मदर्ता, नागरिकता नहुँदा उपचार सेवा र रोजगारीमा धेरै समस्या हुने गरेको छ ।