विजयपुर । इटहरी उपमहानगरपालिका–६ स्थित अम्बेकोशी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरूविरुद्ध हालसम्म ५९ जनाले उजुरी दिएका छन् ।

सञ्चालकहरू फणिन्द्रबहादुर पूर्वछाने मगरलगायत विरुद्ध ५९ जनाको उजुरी परिसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीले पीडितहरूलाई जाहेरी दिन अनुरोध पनि गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता नवीनकृष्ण भण्डारीका अनुसार सहकारी सञ्चालक समितिका अध्यक्ष पूर्वछाने मगर, सञ्चालक समितिका सदस्य शीलादेवी विश्वकर्मा, लेखा सुपरीवेक्षक संयोजक राहुल अग्रवाल र लेखा सुपरीवेक्षक सदस्य कुमार आलेलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरूविरुद्ध मनोजकुमार भट्टराईसहित २ जनाले सुरुमा ठगीविरुद्ध जाहेरी दिएका थिए । पक्राउ परेलगत्तै उजुरी दिनेको लर्को लागेको हो । उनीहरूको जाहेरीका आधारमा प्रहरीले अध्यक्षसहित सदस्यहरूलाई यही मङ्सिर ८ गते पक्राउ गरेको थियो । प्रवक्ता भण्डारीका अनुसार बुधबारसम्म ५९ जनाले जाहेरी दिएका छन् ।

प्रहरीमा दर्ता भएका जाहेरीका आधारमा सहकारीबाट करिब तीन सय जना पीडित बनेको अनुमान गरिएको छ । सहकारीको नौ हजार आठ सय ९१ शेयर सदस्य रहेको र ११ हजार आठ सय ४५ जना बचतकर्ता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सहकारी सञ्चालकले कुल १४ करोड ३६ लाख २९ हजार ५ सय ७३ रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । जसमा बचततर्फ १४ करोड २४ लाख ७८ हजार सात सय ७३ रुपैयाँ ठगीको बिगो रहेको छ भने शेयरतर्फ ११ लाख ५० हजार आठ सय रुपैयाँ रहेको छ ।

सञ्चालकहरूविरुद्ध सहकारी ठगी मुद्दाबारे अनुसन्धान भइरहेको प्रवक्ता भण्डारीले जानकारी दिए । उनले फोनसम्पर्कमा भने, ‘सहकारी ऐनअन्तर्गत मुद्दा दायर हुन्छ । अनुसन्धान भइरहेको छ । सङ्गठित ठगीमा पनि कारबाही हुनसक्छ ।’ सहकारी ऐन २०७४ को दफा १२४ मा सजायसम्बन्धी व्यवस्था गरिएको छ । उक्त ऐनका दफा १२४ को (घ) ५ मा दश करोड रुपैयाँभन्दा बढी एक अर्ब रुपैयाँसम्म बिगो भएमा ६ वर्षदेखि ८ वर्षसम्म कैदको व्यवस्था रहेको छ । बुँदा ६ मा एक अर्बभन्दा बढी जतिसुकै रुपैयाँको बिगो भए पनि ८ वर्षदेखि १० वर्षसम्म कैदको व्यवस्था रहेको छ । पक्राउ परेका सञ्चालकविरुद्ध सुनसरी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरिएको छ ।