झापाको पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा दुई अर्ब १५ करोड ६० लाख ९४ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ९६ करोड २५ लाख ९३ हजार रुपैयाँ बराबरको मात्रै अलैँची निर्यात भएको नाकाको तथ्याङ्कमा उल्लेख छ । गत वर्षभन्दा बढेको छ । मेची भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको चार महिनामा १७ लाख ३७ हजार एक सय १० मेट्रिक टन अलैँची निर्यात भएको छ ।  गतवर्ष यो अवधिमा २४ लाख ४१ हजार १ सय ९९ मेट्रिक टन अलैँची निर्यात भएको थियो । यस वर्ष अलैँचीको मूल्य पनि आकासिएको छ ।

गत आर्थिक वर्ष २०७९-०८० को तुलनामा अलैँची निर्यात नौ दशमलव ८६ प्रतिशतले बढेको छ । कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत गणपति कँडेलका अनुसार परिमाणको तुलनामा अलैँची निर्यात कम भए पनि मूल्य बढेको जानकारी दिए । पछिल्लो समय मुलुकबाट अलैँची निर्यात बढ्दै गएको उनले बताए । नेपाली अलैँचीको मुख्य बजार भारत रहे पनि पछिल्लो समय अन्य मुलुकमा समेत निर्यात हुने क्रम बढेको उनको भनाइ छ ।

नेपाली अलैँची भारत, पाकिस्तान, जर्मनी, इटाली, अमेरिकालगायत देशमा निर्यात हुने गरेको छ । तर, नेपाली अलैँचीको सबैभन्दा ठूलो बजार भनेको छिमेकी मुलुक भारत नै हो । मसला तथा घरेलु औषधिको रूपमा प्रयोग गरिने नेपालको अलैँची भारतमा ९९ प्रतिशत पुग्ने गरेको छ ।

अधिकांश अलैँची भारततर्फ निकासी हुने गरेकोले भारतमा उत्पादित अलैँचीले नेपाली बजारमा प्रभाव पार्ने गरेको छ । पूर्वी पहाडी जिल्लाका किसानको प्रमुख नगदेबाली अलैँची मुख्य आम्दानीको स्रोत मानिएको छ । नेपालको पहाडी जिल्लाहरूमा अलैँचीको व्यावसायिक रूपमा खेती गर्दै आएका छन् भने नेपाल, भारत र भुटान विश्वका अत्यधिक परिमाणमा अलैँची उत्पादन गर्ने मुलुकमा पर्दछन् । विशेषगरी अलैँची भदौ/असोजमा टिप्ने गरिन्छ । भारत र भुटानको अलैँची उत्पादन घटेका कारण नेपालको अलैँची निर्यात बढेको अनुमान गरिएको छ ।

नेपाल उत्पादित कृषिजन्य वस्तुको निकासीमा अलैँचीको हिस्सा सबैभन्दा बढी छ । पछिल्लो समय यसको उत्पादन वृद्धि भएसँगै निर्यातमा पनि बढोत्तरी देखिएको व्यवसायीहरू बताउँछन् । पूर्वी काँकडभिट्टा नाका भएर निर्यात हुने मुख्यः दश मालवस्तुमध्ये अलैँची पहिलो स्थानमा छ । भारत र भुटानमा अलैँचीको उत्पदान घटे पछि पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग उच्च रहेको व्यवसायीको भनाइ छ । अलैँची निर्यातकर्ता ओमकृष्ण विमलीका अनुसार अहिले अन्तर्राष्ट्रिय बजारको मागलाई नेपाली अलैँची उत्पादनले धान्न सकिरहेको छैन । 

अलैँचीको माग बढेसँगै निर्यात बढेपछि अलैँची विदेशमा निकासी गरेर विदेशी मुद्रा आर्जन भइरहेको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीको भनाइ छ । हालसम्म नेपालका ४३ जिल्लामा अलैँची उत्पादन हुँदै आएको छ । उत्पादनको दुई प्रतिशतमात्रै आन्तरिक खपत हुने गरेको अनुमान गरिन्छ । नेपालमा १८ हजार हेक्टर जमिनमा अलैँची खेती हुँदै आएको भए पनि ३५ देखि ४० हजार हेक्टरमा गर्न सकिने बताइएको छ ।