कोशी प्रदेशमा गत आर्थिक वर्ष २०७९-८० मा ५ हजार २ सय ८४ वटा उद्योग दर्ता भए । आर्थिक वर्ष २०७५-७६ बाट बर्सेनी वृद्धि हुँदै गएको उद्योग दर्ताको अवस्था आर्थिक वर्ष २०७७-७८ मा आइपुग्दा १० हजार २ सय ३४ वटा दर्ता भए । यो कोभीड सङ्क्रमणको दर उच्च रहेका बेला हो ।

'कोभीड सङ्क्रमण बढ्दै गएपछि युवाहरु गाउँ फर्किए, गाउँमै केही गरौं भन्ने मनसायले उद्योग दर्ता भए,' उद्योग वाणिज्य महासङ्घद्वारा विराटनगरमा आज सोमबार आयोजित कोशी प्रदेशका संचारकर्मीहरुका लागि कृषि समाचार सम्प्रेषणसम्बन्धी अभिमुखीकरण कार्यक्रमको सहजीकरण गर्दै प्रदेश सरकारका कृषि मन्त्रालयअन्तर्गतको कृषि शाखा प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत पशुपति पोख्रेलले भने, 'पछि परिस्थिति सहज भएपछि पुरानै काममा फर्किए ।'

कोभीड सङ्क्रमणमा उच्च रहेको उद्योग दर्ताको तथ्यांक आर्थिक वर्ष २०७८-०७९ मा ९ हजार ८ सय ७ वटा दर्ता भए ।

गत आर्थिक वर्ष २०७९-०८० मा ५ हजार २ सय ८४ उद्योग दर्ता हुँदा कृषि उद्योगमात्रै २ हजार ८ सय ६५ वटा दर्ता भएको तथ्याङ्क छ ।

सहजीकरणमा वरिष्ठ कृषि अधिकृत पोख्रेलले कोशी प्रदेशमा व्यावसायिक रुपमा संचालित कृषि उद्यम र कृषि व्यावसायीकरणका समस्यालगायतका विषयमा संचारकर्मीलाई जानकारी गराएका छन् ।