भद्रपुर । ठेकेदारको चरम् लापरबाही भएको पुष्टि भएपछि मर्मत सुरु गरिएको झापाको भद्रपुर–८ स्थित नवनिर्मित प्रादेशिक अस्पतालको निर्माण कार्य अझै पूरा हुन सकेको छैन ।

उद्घाटन गर्ने तयारी भइरहेको कोशी प्रदेश अन्तर्गतको एक मात्र प्रादेशिक अस्पताल हस्तान्तरण नै नभई पानी चुहिन थालेपछि यसको सर्वत्र चर्चा चलेको थियो । ठेकेदार कम्पनीबाट सो भवनको छत तीन महिना अघिबाट मर्मत कार्य सुरु गरिए पनि अझै सम्पन्न भएको छैन । ठेकेदारले आलटाल गर्दै झारो टार्ने काम गरेको देखिन्छ । ठेकेदारले गरेको कार्य अझै पनि सन्तोषजनक देखिएको छैन । काठमाडौँको श्री कन्टेक प्रा.लि. नामक ठेकेदार कम्पनीले त्रुटि सच्याउन जिम्मा लिएको थियो । सघन सहरी तथा भवन निर्माण आयोजना झापाका आयोजना प्रमुख सुदीप पौडेल, अस्पताल प्रशासन, युवा नागरिक समाज, पत्रकारलगायतको टोलीले शुक्रबार अस्पतालको निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा केही त्रुटि सच्याइए पनि अधिकांश सच्याउन बाँकी रहेको फेला परेको थियो । युवा नागरिक समाजका अध्यक्ष प्रेम खनालले अस्पताल पुगेको टोलीलाई त्रुटि देखाउँदै भवनको निरीक्षण गराएका थिए ।

समस्या देखिएका स्थानमा केही हप्ता पानी जमाएर हेर्ने र सिलिङ रसाएन भने अन्तिम रूप दिइने टोलीले निष्कर्ष निकालेको थियो । अन्य त्रुटि सच्याउन ठेकेदारलाई बुँदागतरूपमा सुझाव दिइएको छ । ठेकेदारको चरम् लापरबाहीका कारण नयाँ भवनमा सर्न सक्ने अवस्था अहिले पनि नभएको युवा नागरिक समाजका अध्यक्ष प्रेम खनालले बताए । त्रुटि सच्याउने जिम्मा लिए पनि सन्तोषजनक अझै नपाएको उनको भनाइ छ ।

निरीक्षणमा रहेका सघन सहरी विकास आयोजना झापाका प्रमुख सुदीप पौडेलले ब्लाष्टकर्मीसँग यसबारे बोल्न मानेनन् । ‘म काम गर्ने हो, बोल्ने हैन म बोल्दिनँ, तपाईंको भन्दा बढी दायित्व मेरो छ’ भन्दै फन्किएर हिँडे । पौडेल हिँडेपछि युवा नागरिक समाजका अध्यक्ष खनालले सम्झाउँदासमेत रिसाएका उनले त्यसपछि खासै निरीक्षणमा चासो देखाएनन् । मेची अस्पतालको पुरानो भवन जीर्ण, खरिद गरिएका उपकरणहरू बिग्रने र बिरामीको चाप पनि बढ्दै गएकोले हस्तान्तरण प्रक्रियामा रहेको प्रादेशिक अस्पतालको नयाँ भवन अनुगमन गर्दा भवन कमसल बनेको र पानी चुहिने समस्या रहेको पत्ता लागेको थियो । गत जेठ २२ गते नै सघन सहरी विकास आयोजना झापाका तत्कालीन सिडिई रूपक आचार्यले तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. जयकुमार ठाकुरले सो भवन हस्तान्तरणको फारममा हस्ताक्षर गरी बुझिलिएका थिए भने आयोजनाको पत्रमा जिल्ला समन्वय समितिका अध्यक्ष विश्वनाथ बराल, पदेन सदस्य तथा भद्रपुर नगरका मेयर गणेश पोखरेल, जिल्ला समन्वय समिति उपप्रमुख शान्ता रोक्का, समितिका सदस्य लक्षमण पोखरेल, जानुका पौडेल, वडानम्बर ८ का अध्यक्ष गौरव सुब्बालगायतले रोहवरमा हस्ताक्षर गरेका थिए ।

गुणस्तरहीन भवनको विषयमा सार्वजनिक भएपछि नगरप्रमुख पोखरेल, जिल्ला समन्वय प्रमुख बराल, युवा नागरिक समाज झापा भद्रपुरका अध्यक्ष प्रेम खनाललगायतको छलफलमा सघन सहरी तथा भवन निर्माण आयोजनाका तत्कालीन प्रमुख सिडिई रूपक आचार्यले  भवन निर्माणमा भएको त्रुटि मर्मत गरिने बताएका थिए । भवनको विषयमा माओवादी केन्द्र भद्रपुर नगरसमिति, नेपाली काङ्ग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले विज्ञप्तिमार्फत् चासो देखाएका थिए ।

विवाद देखिएपछि सघन सहरी तथा भवन निर्माण आयोजनाले भवन निर्माणकार्यमा भएको त्रुटि  र गुणस्तरको चेकजाँच गराउन स्ट्रक्चर इन्जिनियर प्रविन ढकालसहितको विशेषज्ञ टोलीलाई खटाएको थियो । भवन निर्माणमा प्रयोग भएको सामान र गुणस्तर भए पनि केही समस्या भएकोले यसको मर्मत गरेपछि यो भवन प्रयोगमा ल्याउन सकिने इन्जिनियरको टोलीले जनाएको थियो ।

असार ६ गते विकास समितिले विज्ञप्ति मार्फत् असारको पहिलो सातामा आएकै वर्षे झरीको पानी रसाएर चुहिएको, आइसियु कक्षमै छतबाट पानी चुहिएको, छानाको फाइवर कमसल भएको र तीनवटा सेक्सनको छानाको जडानबाट पानी चुहिएको उल्लेख गरेको थियो ।

त्यस्तै २०८० जेठ २२ गते बसेको अस्पताल विकास समितिको बैठकमा हस्तान्तरण प्रक्रियाका विषयमा छलफल भएको जनाउँदै विज्ञप्तिमा अस्पतालको झ्याल, ढोकाको सामग्री कमसल भएको, शौचालयमा धेरै समस्या देखिएको लगायतका विषय उठान हुँदा उक्त समस्या समाधान गर्ने र अन्य समस्याहरू भए ठेकेदारले धरौटीस्वरूप राखेको रकमबाटै आवश्यक व्यवस्थापन गर्ने गरी अघि बढ्ने छलफल भएको पनि जनाइएको थियो ।

विज्ञप्तिमा भवन निर्माण प्रक्रियामा अस्पताल विकास समितिको कुनै संलग्नता नभएको स्पष्ट पार्दै भवन निर्माणको क्रममा देखिएको त्रुटि र प्राविधिकहरूको संलग्नताका सम्बन्धमा छानबिन गरी सम्बन्धित ठेकेदार तथा अनुगमन सुपरीवेक्षण गर्ने पक्षलाई कानूनी दायरामा ल्याई क्षतिपूर्तिसमेत असुल उपर गर्न सरकारसँग माग गरिएको थियो । अस्पताल विकास समितिले नवनिर्मित सो भवनमा देखिएको लापरबाही र असाधारण त्रुटिहरू निराकरण नभएसम्म सेवा प्रवाह गर्न नसकिने विज्ञप्तिमा उल्लेख गरेको थियो ।

२४ करोड ६२ लाख रुपैयाँ (भ्याटबाहेक २२ करोड ६१ लाख ३७ हजार ३ सय ५२ रुपैयाँ ७१ पैसा) मा २०७४ साल कात्तिक ३० गते काठमाडौंको श्री कन्टेक प्रा.लि. नामक ठेकेदार कम्पनीले २०७९ भदौ ३१ गते कार्य सम्पन्न गर्ने गरी प्रादेशिक अस्पतालको भवन निर्माण सम्झौता गरेको थियो । कुशल शर्मा प्रोप्राइटर रहेको सो निर्माण कम्पनीले प्रादेशिक अस्पतालको २ वटा भवनमा ६ वटा ब्लक र एउटा र्याम्प बनाएको छ । भवन अपाङ्गमैत्री छ र त्यसमा दुईवटा लिफ्टसमेत जडान गरिएको छ ।