स्विट्जरल्यान्डको विकास संस्था हेल्भेटासकी अध्यक्ष रेगुला राइट्जले कोशी प्रदेशका आयोजनाको अवलोकन भ्रमण गरेकी छन् । 

अध्यक्ष राइट्जले चालु परियोजनाको अवलोकनसँगै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग भेट गरेकी छन् । भेटमा चालु परियोजना र सम्भावित सहयोगका विषयमा कुराकानी भएको छ । 

अध्यक्ष राइट्जको भ्रमणलाई नेपाल र विशेष गरी कोशी प्रदेशमा हेल्भेटास सहयोगका लागि सकारात्मक रुपमा लिइएको छ । भ्रमण अवलोकनको उद्देश्य परियोजनाको पृष्ठपोषण प्राप्त गर्नु र स्थानीय नेतृत्वसँगको छलफल र दीगो विकासका लागि महत्वपूर्ण हुने विश्वास लिइएको छ । 

बिहीबार अध्यक्ष राइट्जले सुनसरी र धनकुटा जिल्लाको भ्रमण गरेकी छन् । भ्रमणमा चालु परियोजनाको प्रत्यक्ष अवलोकन गर्ने कार्यक्रम रहेको हेल्भेटासका प्रतिनिधि ओम खड्काले जानकारी दिए ।

भ्रमणका क्रममा हेल्भेटास अध्यक्ष राइट्जले बुधबार विराटनगरस्थित प्रिमियर वायर इण्डस्ट्रिजको अवलोकन गरिन् । उद्योगमा परियोजनाअन्तर्गत कार्यरत कर्मचारी र प्रशिक्षकका साथ उनले भलाकुसारी गरिन् । स्थानीय सीप विकास र रोजगारको अवसर वृद्धि गर्नका लागि व्यावसायिक प्रशिक्षण आवश्यक रहेको उनले बताइन् । 

भ्रमणका क्रममा सुनसरीको दुहबीस्थित सरस्वती हाइस्कुलको भ्रमण गर्दै अध्यक्ष राइट्जसँगै प्रतिनिधि मण्डलले जीवन मार्गदर्शन कार्यक्रममा सहभागिता जनाएको थियो । अध्यक्ष राइट्जले विद्यालयका बालबालिकासँग कुराकानी गरिन् । यसका साथै उनले दुहबी नगरपालिकाका मेयरसँग भेट गर्दै उक्त क्षेत्रको समग्र विकास र युवाको सुनिश्चित भविष्यमा शिक्षाको महत्वबारे चर्चा गरिन् । 

धनकुटा भ्रमणका क्रममा अध्यक्ष राइट्जले लेउती खोलामा लगाइएको ट्रेल ब्रिजको अवलोकन गरिन् । स्थानीय उपभोक्तासँग कुराकानी गर्दै उनले स्थानीय समुदायमा पुलको उपयोगिताबारे जानकारी प्राप्त गरेकी थिइन् । धनकुटामा आयोजित व्यावसायिक कुक प्रशिक्षण कार्यशालामा सहभागी हुँदै अध्यक्ष राइट्जले उपस्थित सहभागीसँग कुराकानी गरिन् । 

President of Helvetas, a renowned Swiss development organization (1)

प्रविधिको प्रयोगमार्फत् स्विस प्रोजेक्ट इन्स्योरको सहयोगमा धनकुटा नगरपालिकाद्वारा आयोजित उक्त कार्यशालामा सीप विकास र व्यावसायिक शिक्षामा हेल्भेटासले योगदान गर्ने अध्यक्ष राइट्जले प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

भ्रमणकै क्रममा अध्यक्ष राइट्जले सुनसरीको इटहरी र इनरुवालगायतका क्षेत्रमा सञ्चालित परियोजना सुरक्षित आप्रवासन, प्राविधिक र व्यावसायिक शिक्षा र प्रशिक्षण (टिबिईटी) को निरीक्षण गर्नेछिन् ।

अध्यक्ष राइट्जले आज वराहक्षेत्र र इटहरी नगरपालिका जनप्रतिनिधिसँग समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ । भ्रमणले कोसी प्रदेशको विकासलाई प्रवर्धन गर्ने हेल्भेटासको प्रतिबद्धतालाई सहयोग गर्ने अपेक्षा लिइएको छ । 

अफ्रिका, एसिया, ल्याटिन अमेरिका र पूर्वी युरोपका देशमा मानवीय विकासका क्षेत्रमा काम गर्दै आएको हेल्भेटासकी अध्यक्ष राइट्जले कोशी प्रदेशमा महत्वपूर्ण भेटघाट गर्ने कार्यक्रम रहेको छ । 

President of Helvetas, a renowned Swiss development organization (2)

अध्यक्ष राइट्जसँगै क्षेत्रीय संयोजक लियोनल गिरोन र हेल्भेटास नेपालका कन्ट्री डाइरेक्टर डा. प्रवीण मानन्धरले प्रदेशमा सञ्चालित आयोजनाअन्तर्गत ट्रायल ब्रिज प्रोजेक्टसँग सम्बन्धित चित्र प्रदर्शनीको बुधबार अवलोकन गरेका थिए । चित्र प्रदर्शनी अवलोकनपछि स्थानीय समुदायमा ट्रेल ब्रिजको प्रभावका बारेमा जानकारी प्राप्त गर्ने अवसर पाएको अध्यक्ष राइट्जले बताएकी थिइन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अध्यक्ष राइट्जले गत मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेकी थिइन् ।

भेटका क्रममा नेपाललाई गरेको सहयोग र सहकार्यका विषयमा छलफल भएको बताइएको छ । 

President of Helvetas, a renowned Swiss development organization (3)