काठमाडौं । सूर्यज्योति लाइफले एक भव्य समारोहबीच ‘सूर्यज्योति सही प्लान’ सार्वजनिक गरेको छ ।

काठमाडौँको लाजिम्पाटस्थित होटेल डुशिट प्रिन्सेसमा आयोजित समारोहमा प्रमुख अतिथि बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराईले संयुक्तरूपमा प्लान सार्वजनिक गरेका हुन् ।

बिमा प्राधिकरणका अध्यक्ष सिलवालले परम्परागत पोलिसीभन्दा भिन्न विशेषतासहितको योजना ल्याएकोमा सूर्यज्योति लाइफलाई धन्यवाद दिए । उनले गरिबले पनि बिमा गर्न सक्ने कम प्रिमियममा ठूलो बिमा गर्न मिल्ने योजना ल्याउन सफल भएकोमा आफू हर्षित भएको बताए । कम्पनीका अध्यक्ष भट्टराईले यो योजना तयार गर्दादेखि अन्तिम स्वीकृति लिई नेपाली बिमा बजारमा ल्याउँदासम्म मार्ग निर्देश गरेको भन्दै बिमा प्राधिकरण र अध्यक्ष सिलवाललाई धन्यवाद व्यक्त गरे ।

कम्पनीले नेपाली जीवन बिमा क्षेत्रमा एकदमै नयाँ सोचका साथ आम मानिसहरूको आवश्यकता र परिस्तिथिलाई मध्यनजर गर्दै उत्कृष्ट सुविधाहरू भएको ‘सही प्लान’ पहिलो पटक  सार्वजनिक गरेको जनाएको छ । उक्त योजनामा  थोरै प्रिमियममा ठूलो बिमा लिन सकिने, ७० वर्ष पुगेपश्चात् तिरेको सम्पूर्ण प्रिमियम फिर्ता हुने, आर्थिक सुरक्षा आजीवन रहिरहने र तिरेको प्रमियमको ६ गुणासम्मको रकम फिर्ता हुने विशेषताहरूका साथै ऐच्छिक सुविधा अन्तर्गत सर्वाधिक ३५ घातक रोगहरूविरुद्ध ५० लाखसम्मको पनि आर्थिक रक्षावरण गर्न सकिने बताइएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले उपस्थित सम्पूर्ण  विशिष्ट व्यक्तित्वहरूलाई स्वागत गरेका थिए । उनले आम जनजीवनमा आइपर्ने सक्ने आर्थिक भारको जोखिममा सहयोग दिन यो योजना एकदमै उत्तम भएको दाबी गरेका छन् ।