इनरुवा । सुनसरीमा अन्तःशुल्क स्टिरको दुरुपयोग गरी राजश्व छली गर्ने गरेको फेला परेको छ । सीमा क्षेत्रबाट पक्राउ परेका कारोबारी उपरको प्रहरी अनुसन्धानका क्रममा अन्तःशुल्क स्टिकरको दुरुपयोग गरी राजश्व छली गर्ने गरेको पाइएको हो ।

गुट्खा कारोबारी चिमडी–६ का २१ वर्षीय जीवनप्रकाश यादवको साथबाट बरामद ५ सय ७० थान रेडिमेड टोबाको लेखिएको आन्तरिक राजश्व विभागको स्टिकर उपरको प्रहरी अनुसन्धानका क्रममा राजश्व छलीमा अन्तः शुल्क स्टिकरको दुरुपयोग हुँदै आएको विषय खुल्न आएको हो । एउटै स्टिकरलाई पटक–पटक प्रयोगमा ल्याई राजश्व छली गर्ने गरेको भेटिएकाले पक्राउ परेका व्यक्तिको हकमा सबुत प्रमाणसहित कारबाहीको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । डिएसपी नवीनकृष्ण भण्डारीले सूचनाका आधारमा जीवनलाई नियन्त्रणमा लिइएको बताए ।

नियन्त्रणमा लिइएका व्यक्तिको हकमा थप अनुसन्धान भैरहेको बताएका भण्डारीले बरामद गुट्खा र स्टिकर उपरको प्रारम्भिक अनुसन्धानका क्रममा राजश्व छली भएको विषय खुल्न आएको बताए । उनले सम्बन्धित डिलरबारे समेतको अनुसन्धान अघि बढाइएको जानकारी दिए । प्रहरीले दिएको जानकारीअनुसार चिमडी घर भएका जीवन सोही स्थानमा पसल गरी बस्दै आएका व्यक्ति हुन् । उनी विगत ४ वर्षयता गुट्खा कारोबारमा संलग्न रहँदै आएका छन् । विराटनगरबाट गुट्खा ल्याउने जीवनले विभिन्न स्थान र बजारमा अर्डर बमोजिम बिक्रीवितरण गर्ने काम गर्ने गर्छन् ।

प्रहरी अनुसन्धानमा खुले अनुसार जीवनले प्रत्येक दिन २ देखि ३ बोरा गुट्खा विराटनगरबाट ल्याउने गर्छन् । दक्षिणवर्ती विभिन्न बजार र पसलमा बिक्री गर्ने गरी ल्याइएका गुट्खा डिलरबाट ल्याउने क्रममा प्रत्येक बोरामा आन्तरिक राजश्व विभागको स्टिकर टाँस भएको हुने गर्छ । जसलाई जीवनले व्यापारी समक्ष गुट्खा बेच्ने क्रममा भने उप्काउने गर्छन् र भेला पारी राख्ने गर्छन् ।

दैनिक ३ बोराका हिसाबले जीवनले मात्रै हप्ताको कम्तीमा २१ बोरा गुट्खा बिक्री गर्छन् । जसबाट २१ थान स्टिकर भेला हुन्छ । प्रहरीका अनुसार उक्त दैनिक परिमाणको गुट्खा बिक्री बापत डिलरले कम्तिमा २० हजार रुपैयाँ सरकारी राजश्व तिर्नुपर्छ ।  एक पटक राजश्व तिरेको स्टिकर पटक–पटक प्रयोग गरिँदा ठूलो मात्रामा सरकारी राजश्व छली गरेको स्पष्ट देखिन्छ ।

जीवनले चार वर्षदेखि गुट्खाको मार्केटिङ अर्थात् कारोबार गर्दै आएको र उनको साथबाट ५ सय ७० थान स्टिकर भेटिएकाले समेत ठूलो परिमाणमा राजश्व छली भएको प्रहरीको अनुमान छ । सोही तथ्य र प्रमाणसहितको आधारमा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको सुनसरी प्रहरीले जनाएको छ । सरकारले स्टिकरकै आधारमा अन्तःशुल्क अर्थात् राजश्व लिने गर्छ ।

उत्पादित सामान बिक्रीपूर्व नै उद्योगमै स्टिकर टाँस गर्नुपर्ने हुन्छ । एक पटक प्रयोगमा आइसकेको स्टिकर पुनः प्रयोग गर्न पाइँदैन । उक्त कार्य स्वतः राजश्व छली ठहरिन्छ । नेपालको सन्दर्भमा ठूला कम्पनी, उद्योग तथा कारखानामा सरकारी प्रतिनिधिकै उपस्थितिमा अन्तःशुल्क स्टिकर टाँस हुन्छ । अन्यको हकमा भने सरकारी मापदण्डका आधारमा उद्योगले स्टिकर किनेर आफै टाँस्ने गर्छन् । चुरोट, मदिराका साथै सुर्तीजन्य पदार्थहरू खैनी, बिँडी, गुट्खामा लाग्ने अन्तःशुल्क दर भने फरक–फरक रहेको छ ।