महानगरपालिकाले ३२ वटै वडामा वडास्तरीय राजस्व अनुगमन थालेको छ। कामपाका अनुसार मुख्य गरी लामो समयदेखि करको दायरामा नआएका करदाताको विवरण सङ्कलन गर्नका लागि स्थलगत अनुगमन थालिइएको हो ।

कामपाको राजस्व विभागका प्रमुख धुव्र काफ्लेले सम्पत्ति कर, वहाल कर र व्यवसाय कर बुझाउनुपर्ने दायित्व भएका करदातामध्ये अग्रिम कर बुझाउनेप्रति आभार प्रकट गर्न, छुट सुविधाका विषयमा जानकारी दिन, कर नियमित तिर्नका लागि प्रोत्साहन गर्न वडामा स्थलगत अनुगमन सुरु गरिएकोे जानकारी दिएका छन् । 

प्रत्येक वडाले वडा सदस्यको नेतृत्वमा तीन सदस्यीय अनुगमन टोली गठन गरेको छ। टोलीमा कर्मचारी एकजना र स्थानीयमध्ये एकजना सदस्य रहने व्यवस्था रहेको छ।टोलीले सचेतनाका साथै कर तिर्नका लागि वडामा आउन वा अनलाइनबाट तिर्न मौखिक अनुरोध गर्नेछ। मौखिक अनुरोधको अटेर गर्नेलाई वडा सचिवमार्फत पत्राचार हुनेछ। स्थलगत अवस्थाको विवरण सङ्कलन गर्नेछ। सङ्कलित विवरण अनुसार तथ्याङ्क तयार पारी राजस्व विभागका पेस गर्ने बताइएको छ ।  

उनले भने सात तले घरले सात हजार बहाल सम्झौता देखाएका छन्।जवकि हरेक भूमिगत तला र जमिन तला व्यावसायिक प्रयोजनमा देखिन्छन्। त्यस माथिका तला वहालमा लगाइएको छ। एउटै तलामा सात भन्दा धेरै कोठा छन् । हरेक कोठाको सात हजारभन्दा धेरै वहाल उठाउने गरिएको छ। यसरी करदाताले झुटो विवरण दिएपछि स्थलगत अनुगमन थालिएको हो । ”

विगतका वर्ष भन्दा चालु आर्थिक वर्षमा क्रमिक रुपमा करतादाको सङ्ख्या बढेपनि अपेक्षाकृत सबै करदाता कानुनी दायरामा  नआएको कामपाको भनाइ छ । कामपाले चालु आर्थिक वर्षको पहिलो दुई महिनाको अवधिमा १अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व असुल गरेको जनाएको छ । 

चालु आवका लागि कामपाले १० अर्ब ४१ करोड राजस्व असुलको लक्ष्य लिएको छ । चालु आवको दुई महिनाको अवधिमा सबैभन्दा बढी घरबहाल करबाट ५२ करोड असुल भएको राजस्व विभागका प्रमुख काफ्लेले बताउनुभयो । त्यसैगरी सम्पत्ति करबाट २५ करोड असुल भएको छ । गत वर्षभन्दा यस वर्ष सम्पत्ति करमा मात्रै छ सय ४८ करतादा बढेका छन् । अहिले कामपामा तीन लाखभन्दा बढी करदाता छन्।