विराटनगर । विराटनगरमा मुख्य कार्यालय रहेको तुलसी बहुउद्देश्यीय सहकारी संस्थाको कर्पोरेट कार्यालयमा छापा मारेर महत्वपूर्ण कागजपत्र जफत गरिएको छ ।

बचतकर्ताहरूको ४१ करोड ६३ लाख रुपैयाँ रकम हिनामिना गर्ने समस्याग्रस्त सहकारीमा सहकारी व्यवस्थापन समितिले सोमबार छापा हानेर कागजात जफत गरेको हो । समितिका सदस्य–सचिव केशव पौडेल नेतृत्वको टोलीले सहकारीको कार्यालयमा छापा मारी महŒवपूर्ण कागजात जफत गरेर लगेको छ । जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय र वडाको प्रतिनिधिको रोहवरमा समितिले कार्यालयको सम्पूर्ण कागजात जिम्मा लिएको समितिका सदस्य–सचिव पौडेलले जानकारी दिए । ‘हामीले कागजात जफत गरेर विराटनगरको कार्यालयमा शिलबन्दी गरेका छौँ । मङ्गलबार  लेटाङको मार्ट र झापाको दमकमा रहेको कार्यालय शिल गर्छौं’ पौडेलले भने, ‘तुलसी सहकारीको गाईघाटमा रहेको शाखामा शिल भइसकेको छ । सिरहाको गोलबजार शाखामा पनि हामी केही दिनपछि सिल गर्छौं ।’

उनले समितिले सबै कागजात लिएर काठमाडौं गएपछि सहकारी ऐन २०७४ को ११२ अनुसार बचतकर्तालाई रकम दाबी पेश गर्न आह्वान गर्ने बताए । ‘सहकारीबाट लिनुपर्ने सावाँ ब्याजसहित माग गर्न अनलाइनमार्फत बचतकर्तालाई आह्वान गर्दै ३५ दिने सूचना जारी गर्ने तयारीमा छौँ’ उनले भने, ‘कसैले फारम भर्न नछुटाउनु होला भनेर मैले पीडितहरूलाई भनेको छु ।’ पीडित बचतकर्तालाई सञ्चालकहरूको र ऋणीको जग्गा–जमिन खोज्ने क्रम अगाडि बढेको पौडेलले बताए । यसअघि नै तुलसी सहकारीले बचतकर्ताको रकम हिनामिना गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ठगीको मुद्दा चलाइसकेको छ । तर, बचतकर्ताको व्यवस्थापन गर्ने काम समितिको भएको हुनाले मुद्दामा गए पनि केही फरक नपर्ने पौडेलले बताए । ‘त्यहाँ पनि समन्वय गरेर अगाडि बढ्छौँ । हाम्रो तर्फबाट उजुरी र दाबी आएपछि मात्रै बचतकर्ताको कति रकम दायित्व रहेको भन्ने थाहा हुनेभयो’ उनले भने । 

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालय अन्तर्गतको निकाय हो । सरकारले समस्याग्रस्त घोषणा गरेको सहकारीको सम्पत्तिको व्यवस्थापन र दायित्व भुक्तानीको जिम्मा पनि यही समितिलाई रहेको छ । सरकारले तुलसी बहुउद्देश्यीय सहकारी संस्थालाई गत भदौ २५ गते समस्याग्रस्त घोषणा गरेको हो ।

तुलसी बहुउद्देश्यीय सहकारी संस्थाले ४१ करोड ६३ लाखभन्दा बढी रकम नियमविपरीत लगानी गरेको सिआईबीको अनुसन्धानबाट खुलेको थियो । यस्तै उक्त सहकारीले झण्डै १७ करोड रुपैयाँको हिसाब नै नराखेको पाइएको छ । सहकारीको कुल निक्षेप १ अर्ब ६५ करोड ६५ लाख ९३ हजार २ सय ९१ रुपैयाँ अनुसन्धानबाट खुलेको छ । उक्त संस्थाबाट ऋण तथा लगानी भएको रकम १ अर्ब ४८ करोड ६८ लाख ५० हजार ७ सय ५१ रुपैयाँ छ । हिसाबमै नभएको (श्रेस्तामा नदेखिएको) रकम १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ रहेको छ । यस्तै सहकारीले नियमविपरीत प्रा.लि. कम्पनीहरूमा ऋण लगानी ४१ करोड ६३ लाख ९५ हजार ३ सय ८७ रुपैयाँ गरेको मोरङ प्रहरीले गरेको अनुसन्धान र लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

प्रहरीले गत चैत २३ गते सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित ८ जना सञ्चालकहरूविरुद्ध ठगी मुद्दा दायर गरेको थियो । जसमा सहकारीका अध्यक्ष  शर्मा, सञ्चालक समितिका सदस्यहरू बन्टी अधिकारी, आदित्यराज भट्टराई, निर्मला पोखरेल भट्टराई, छविलाल विश्वकर्मा, क्षेत्रीय प्रबन्धक मन्दिप खवास, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपाने रहेका छन् ।

उनीहरूलाई सहकारी ऐन २०७४ को दफा १२२ को उपदफा (ख), (घ), (ङ), (च) र (ज) बमोजिम ६ वर्षदेखि ८ वर्षसम्म कैद सजाय र उपदफा (१) को देहाय (घ) तथा (५) बमोजिम बिगो ५० करोड ८८ लाख ७८ हजार ७ सय २८ रुपैयाँ जाहेरवालाहरूलाई र बिगो १६ करोड ९७ लाख ४२ हजार ५ सय ४० रुपैयाँ तुलसी सहकारी संस्थालाई भराई बिगो बमोजिम जरिबाना तथा कैद सजाय माग दाबी लिएर जिल्ला सरकारी वकिलको कार्यालय मोरङले जानकारी दिएको छ । सहकारीका सञ्चालकहरूले ३ हजार ६३ जना सर्वसाधारणले जम्मा गरेको एक अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९ सय ९१ रुपैयाँ रकम हिनामिना गरेको आरोप छ ।

तुलसीको चारवटा शाखा रहेको छ । विराटनगरस्थित केन्द्रीय कार्यालयमा सहकारीका सबैभन्दा बढी सदस्य रहेका छन् । विराटनगरमा १ हजार ९ सय ७८ जनाले ६० करोड ४१ लाख ८ हजार ८ सय ६२ रुपैयाँ बचत गरेका छन् । ठगी गरेको भन्दै १ हजार ३ सय ७ जना बचतकर्ताले जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी गरेका थिए । अध्यक्ष शर्माद्वारा सञ्चालित निजी खाद्यान्न, मोटर, इलेक्ट्रिक, चिउरा मिल, जुत्तादेखि मिडिया कम्पनीमा पनि सहकारीको रकम लगानी गरेको पाइएको छ । निजी उद्योगबाहेक जग्गामा पनि शर्माले लगानी गरेको पाइएको छ । उदयपुर र झापामा मात्र शर्माका नाममा ३६ हजार २ सय ८ दशमलव ८७ वर्गमिटर अर्थात् ५ बिघा ६ कठ्ठा जग्गा रहेको छ । उनको जन्मस्थल उदयपुरमा १५ कित्ता र झापामा ३ कित्ता जग्गा शर्माको नाममा रहेको छ ।