नेकपा एमाले धरान उपमहानगर कमिटीले पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा भूकम्पबाट पीडितको सहयोगार्थ अभियान सुरु गरेको छ । 

आजदेखि नेकपा एमालेका प्रत्येक संगठित सदस्यले आर्थिक संकलन अभियानमा योगदान गर्ने प्रेस विज्ञप्ति जारी गर्दै एमाले धरानका सचिव तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रकुमार राईले जानकारी दिएका छन् । 

भूकम्पबाट पीडितका लागि नेकपा एमाले केन्द्रीय कमिटीले समेत एक करोड रुपैयाँ राहत सहायता दिने घोषणा गरेको सन्दर्भमा नेकपा एमाले धरान उपमहानगर कमिटीले पनि अभियान सुरु गरेको सचिव राईले बताए । 

एमाले धरानले राहत संकलन अभियानमा सहभागी हुन र आफ्नो क्षेत्रबाट स्वेच्छिक सहयोग गरिदिन संघ–संस्था, व्यवसायी, राजनीतिक दल, नागरिक समाज, जनप्रतिनिधि र कर्मचारीलगायतलाई अपिल गरेको छ । 

एमाले धरानले भूकम्पका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । भूकम्पमा परी ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना सहित द्रुतगतिमा उपचारको व्यवस्था मिलाउन र विस्थापितहरूको आवास तथा खाद्यान्नको व्यवस्था मिलाउन सरकारसँग एमाले धरानले मागसमेत गरेको छ ।