वित्तीय माफियाविरुद्ध जाइलागिरहेका र राजतन्त्र पुनःस्थापना गर्ने अभियान थालिरहेका व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रतिशोधमा उत्रेको छ । 

व्यवसायी प्रसाईंलाई नियन्त्रणमा लिन र उनका गतिविधिलाई समेत नियन्त्रण गर्न एमालेले सरकारलाई दबाब दिन थालेको सार्वजनिक भएको छ । सो विषयमा  प्रतिक्रिया दिंदै व्यवसायी प्रसाईंले भने– ‘बैंकको ऋण तिर्न सकिने भनें लिलामी हुन्छ, केपी ओलीका झोलेले चिन्ता गर्नुपर्दैन, केपी ओलीले चिन्ता गर्नुपर्दैन ।’ 

मिडिया रिपोर्टका अनुसार नेकपा एमाले व्यवसायी दुर्गा प्रसाईंप्रति आक्रामक बनेको छ । एमालेको केन्द्रीय सदस्य त्याग गरेर राजावादी अभियान थालेका प्रसाईंका गतिविधिमाथि नियन्त्रण गर्न प्रमुख प्रतिपक्षी दल एमालेले सरकारलाई दबाब दिन थालेको मिडिया स्रोतले उल्लेख गरेका छन् । 

शुक्रबार सिंहदरबारमा भएको भेटमा ओलीले दुर्गा प्रसाईंको गतिविधिले ‘परिवर्तन विरोधी तत्वलाई सहयोग गरेको’ भन्दै उनलाई नियन्त्रणमा लिन ओलीले माग गरेको बताइएको छ । बालुवाटार स्रोतलाई उद्धृत गर्दै भनिएको छ– ‘प्रसाईंका गतिविधि परिवर्तन विरोधी छन् ।  गणतन्त्रलाई चुनौती दिइरहेका छन् । सरकार चुप लागेर बस्नु हुँदैन । यस्ता गतिविधि नियन्त्रण गर्न ध्यान दिनुपर्छ ।’

एमालेका केन्द्रीय सदस्य त्याग गरेका व्यवसायी प्रसाईंले बैंक तथा बित्तीय संस्थाका गैरकानुनी ऋण नतिर्ने र राजतन्त्र पुनःस्थापना गर्ने अभियान थालेपछि प्रसाईं र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच तिक्तता बढ्दै गएको देखिन्छ । 

पार्टीमा रहँदा आफूलाई ‘हजुर बुबा’ भनेर सम्बोधन गर्ने प्रसाईंका गतिविधिलाई भने रोक लगाउनुपर्ने माग अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गरेको बताइएको छ । प्रसाईंका गतिविधि नियन्त्रणका लागि ओलीले गरेको आग्रहबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान बालुवाटार पुगेका माओवादीका केही नेतालाई जानकारी गराएका छन् । पार्टी पदाधिकारीको अनौपचारिक बैठकपछि सीमित नेताहरुसँग प्रचण्डले ओलीको दबाब जानकारी दिएका थिए । 

प्रसाईंलाई युवासंघले काठमाडौँमा कालोमोसो दलेको थियो । असोज २५ गते झापामा आयोजित युवासंघको कार्यक्रमा सहभागी एमाले नेता महेश बस्नेतविरुद्ध नाराबाजी गर्दै प्रसाईं समर्थकले २५ भन्दा बढी गाडी तोडफोड गरेका  थिए । 

दसैँअघि प्रसाईंले एमाले अध्यक्ष ओलीले कम्बोडियामा लगानी गरेको आरोप लगाएका छन् । प्रसाईंको उक्त आरोपपछि ओली उनीप्रति थप आक्रामक बनेका हुन् । प्रसाईंले ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको र त्यसको प्रमाण आफूसँग भएको दाबी गरेका छन् । 

यस विषयमा व्यवसायी प्रसाईंले सत्यकुरा बाहिर ल्याउनलाई नै गणतन्त्र ल्याइएको बताएका छन् । 

प्रसाईंले भनेका छन्,‘मैले २०२८ सालमा झापामा कृष्णप्रसाद विमलीलाई मारेको होइन, धर्मप्रसाद ढकाललाई मारेको होइन, धर्मप्रसाद ढकालका छोरोछोरीलाई रोकीरोकी बञ्चराका पाछाले, खुकुरीले हानेर मारेको होइन नि?, र मैले बलात्कार पनि गरेको होइन, देशको ढिकुटी पनि रित्याएको होइन, मैले ३४ वर्षसम्म देश चलाएको पनि होइन । आज देशका युवालाई देश छाड्न बाध्य बनाउने यिनीहरु हुन् । सत्यकुरा मैले बाहिर ल्याइदिंदा खेरि नीतिगत भ्रष्टाचारका कुरा बाहिर ल्याइदिँदा आज नाटक र जात्रा यिनीहरुले देखाएका छन् ।’

प्रसाईंले आफूलाई के कारणले पक्राउ गर्ने हो ? प्रश्न गरे । उनले राज्यलाई च्यालेञ्ज गरेको बताए । उनले आफूले जनयुद्ध थालनी गरेको हो ? भन्दै प्रश्न गरे । उनले एमाले अध्यक्ष  केपी ओलीप्रति इंगित गर्दै एमालेको झोलेहरुले आफ्नो विरोध गरेको बताए । उनले आफूले ५ हजार करोडको सम्पत्ति राखेर ५ सय करोड ऋण लिएको स्पष्ट पारे ।

‘बैंकको ऋण तिर्न सकिने भनें लिलामी हुन्छ, केपी ओलीका झोलेले चिन्ता गर्नुपर्दैन, केपी ओलीले चिन्ता गर्नुपर्दैन,’ व्यवसायी प्रसाईंले भने । नेपाल सरकारले मेडिकल कलेज बनाउन अनुमति दिएकाले आफूले सोही अनुसार गर्दा राज्यले आफूमाथि प्रहार गरेको समेत व्यवसायी प्रसाईंले बताए । उनले भने, ‘मेरो पीडा चाहिं कसले बुझिदिने ?’

केपी ओलीको मात्र  होइन आफूले धेरै नेताको भण्डाफोर गर्ने बताए ।