प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बडादसैँले मुलुकमा आइपर्ने सबै किसिमका विपत्ति र प्रतिकूलताको सामना गर्ने सामर्थ्य प्रदान गरोस् भनी कामना गरेका छन् ।
विजयादशमी २०८० का अवसरमा आज शुभकामना दिँदै उनले सांस्कृतिक धरोहर र वैभवको रूपमा रहेका चाडपर्वमा अन्तर्निहित भावना र सन्देशबाट मुलुकको विकास, समृद्धि, सुशासन तथा न्यायपूर्ण समाजको स्थापनाका लागि महत्त्वपूर्ण आधार प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

'नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मूल्य मान्यतालाई अक्षुण्ण राख्दै छिटोछरितो, सुलभ, गुणस्तरीय एवं प्रभावकारी न्याय सम्पादनको माध्यमबाट सबैलाई न्याय सुनिश्चित गर्ने तथा विधिको शासनको प्रवर्धन र भरोसायोग्य न्याय प्रणालीको स्थापनाका लागि चाडपर्वले हामी सबैलाई आ–आफ्नो ठाउँबाट योगदान गर्न सक्ने ऊर्जा, क्षमता र प्रेरणा प्रदान गरुन् भन्ने कामनासमेत गर्दछु', प्रधानन्यायाधीश श्रेष्ठले शुभकामना सन्देशमा भनेका छन् ।

सदिऔँदेखि नेपाली समाजमा रहेको आपसी सद्भाव, विश्वास र सहिष्णुता कायम गर्दै विविधताबीचको एकता तथा सामाजिक सांस्कृतिक ऐक्यबद्धताको प्रवर्धन गर्न यसप्रकारका चाडपर्वले महत्वपूर्ण भूमिका खेल्दै आएको उनको भनाइ छ ।
उनले देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य, दीर्घायु एवं सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।