जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले धरानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । 

आज बिहीबार नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलले रिबन काटेर सहायता कक्षको उद्घाटन गरे ।   

दसैंतिहारमा यात्रुहरुले सास्ती नपाउन भन्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानका कार्यालय प्रमुख प्रहरी निरीक्षक सुवास केसीले जानकारी दिए । 

यात्राका क्रममा कुनै प्रकारका समस्या भए उजुरी र गुनासो गर्न सहायता कक्ष स्थानपना गरिएको प्रहरीको भनाइ छ । सहायताका लागि प्रहरीले सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ । सहायता कक्षमा ट्राफिक प्रहरी, जनपद प्रहरी र यातायात व्यवसायीका प्रतिनिधिले चौबिसै घण्टा यात्रुहरुको सहजीकरण सेवा उपलब्ध गराउने छन् ।

Traffic Police Help Desk (2)

आम यातायात व्यवसायी नागरिकसमेतले ट्राफिकको भूमिका निर्वाह गर्दा मात्र ट्राफिक व्यवस्थापन सम्भव हुने यातायात व्यवसायी महासंघ कोशी प्रदेशका संयोजक सरोज श्रेष्ठले बताए । 

‘८ लाख ९० हजार यातायातका साधन प्रदेशमा छन् । १ हजार ८ सय ७२ सवारी एक जना ट्राफिक प्रहरीले हेर्नुपर्ने अवस्था छ,’ संयोजक श्रेष्ठले भने, ‘एक ट्राफिक प्रहरीले साढे ५२ किलोमिटर सडकको सुरक्षा दिनुपर्ने बाध्यता छ तसर्थ यातायात व्यवसायी र नागरिकसमेतले प्रहरीको भूमिका निर्वाह गर्न आवश्यक छ ।’

औपचारिक कार्यक्रम आयोजना गरी गरिएको यात्रु सहायता कक्षको उद्घाटन कार्यक्रममा धरान २ का वडाध्यक्ष रमेश राईको सभाध्यक्षता रहेको थियो । इलाका प्रहरी कार्यालय धरान, ट्राफिक प्रहरी कार्यालय सुनसरी साथै यातायात व्यवसायी र मजदुरको समन्वयमा सहायता कक्ष स्थापना गरिएको हो । 

Traffic Police Help Desk (3)

Traffic Police Help Desk (1)