इनरुवा । इनरुवा नगरपालिकाले निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालनमा ल्याएको छ । नगरपालिकाले अपाङ्गता भएका व्यक्ति पहिचान तथा उपचार लक्षित गरी स्वास्थ्य शिविर सञ्चालनमा ल्याएको हो ।

हरेक वडामा सञ्चालन गरिने शिविरमा चिकित्सकीय परामर्शसहितको स्वास्थ्य जाँचको बन्दोबस्ती मिलाइएको नगरपालिकाको कार्यालयले जनाएको छ । शिविरमा ज्येष्ठ नागरिकहरूको समेत स्वास्थ जाँच गरिँदै आएको नगरका प्रवक्ता तथा वडानम्बर ६ का अध्यक्ष सुमन थापाले बताए ।

थापाले नगरपालिकाले सञ्चालनमा ल्याएको शिविर अपाङ्गता भएका व्यक्ति पहिचान गर्नका लागि उपलब्धिमूलक रहेको बताए । उनले शिविरमार्फत् रोग निदान र समस्या पहिचान, चिकित्सकीय परामर्श तथा उपचार सेवा उपलब्ध गराइएको बताए । यसैबीच बुधबार इनरुवा–६ मा सञ्चालित शिविरको नगरप्रमुख केदार भण्डारी, उपप्रमुख विनिता मेहता, प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, स्वास्थ्य शाखा अधिकृत निखिल पोखरेल र सूचना अधिकारी निरज पोखरेललगायतको टोलीले अनुगमन गरेको छ ।

नगरपालिकाले सञ्चालनमा ल्याएको शिविरमा विराट मेडिकल कलेजको प्राविधिक सहयोग रहेको छ । इनरुवाका दश वटै वडामा सञ्चालन हुने शिविर असोजको ३० गतेसम्म सञ्चालन हुने इनरुवा नगरपालिकाको कार्यालयले जनाएको छ ।