गौहत्या गर्ने जोकोहीको हत्या गरेर आए आफूले जिम्मा लिने अभिव्यक्ति दिएको आरोपमा हिन्दू धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् ।

उनलाई काठमाडौंबाट खटिएको केन्द्रीय अनुसन्धान व्युरो र प्रादेशिक व्युरोले वराहक्षेत्रस्थित आश्रमबाट पक्राउ गरेको हो ।

धनुषाको एक धार्मिक कार्यक्रममा श्रीनिवासले नाङ्गो खुकुरी नचाउँदै हिंसात्मक अभिव्यक्ति दिएका थिए । धनुषा प्रहरीमा परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको बताइएको छ । उनलाई भोलि धनुषा लगिने बताइएको छ ।

साता दिनअघि धनुषाको एउटा कार्यक्रममा श्रीनिवासले छाती पिट्दै अभिव्यक्ति दिएका थिए- 'एउटा सन्तका नाताले मेरो व्यक्तिगततर्फबाट म यहाँका युवाहरुलाई के भन्न चाहान्छु भने, आजका दिनबाट उप्रान्त जसले गाई काटेर मिडियामा राखेको छ र जसले गाई काट्छ त्यो व्यक्तिलाई गएर तपाईंले खुकुरी लिएर गएर काटिदिनुस तपाइँलाई दश वर्षसम्म जेलमा पाल्ने काम म गर्छु । तपाईंको पत्नी, बच्चा, परिवारलाई दश वर्षसम्म तपाईं जेल बसुन्जेल भिख मागेर ल्याएर पाल्ने काम म गर्छु, आँट गर्नुहोस् हिम्मत गर्नुहोस् ।'

यसअघि आचार्य श्रीनिवास धार्मिक द्वेष फैलाएको र आफैंलाई गोली हानेको आरोपमा पक्राउ परेका थिए । वराहक्षेत्रस्थित चक्रघट्टीमा उनको आश्रम रहेको छ । श्री लक्ष्मी वैङ्कटेश्वर मन्दिर निर्माण गर्न जनस्तरबाट समेत चन्दा सङ्कलन गरी निर्माण गर्ने चर्चा चलेको दशक बितिसक्दा पनि सो मन्दिर निर्माण हुन सकेको छैन । अतिवादी अभिव्यक्तिका कारण श्रीनिवास  पछिल्लो समय विवादित बन्दै आएका छन् ।