अनेकन बाधा, अवरोध, प्रतिस्पर्धा, सामाजिक सञ्जालको प्रयोग तथा पाठकहरूको प्राथमिकता परिवर्तनका बावजुद पनि आफ्नो व्यावसायिक कुशलता तथा उत्कृष्ट व्यवस्थापनले पूर्वाञ्चलकै लोकप्रिय दैनिक राष्ट्रिय पत्रिका ब्लाष्ट टाइम्स आफ्नो स्थापनाको २९ वर्ष पूरा गरी तीसौं वर्षमा प्रवेश हुनु हामी सबै धरानवासीका लागि गौरवको कुरा हो । जसरी २९ वर्षको लगन, मेहनत, श्रम, बुद्धि, विवेकको प्रतिफल यो दैनिक ब्लाष्ट टाइम्सको निरन्तरताका साक्षी सबै पाठकगण छन्, त्यसरी नै धरान नगरको आर्थिक, औद्योगिक, व्यावसायिक, शैक्षिक, साहित्यिक साथै सर्वाङ्गीण विकासको साक्षी ब्लाष्ट टाइम्स रहेको छ ।

वि.सं. २०५० पछि धरान नगरमा भएको पुनर्उत्थानको समय र ब्लाष्ट टाइम्सको स्थापनाको समय करिब–करिब एकै भएको हुनाले धरानको नयाँ ढाँचाको विकासका नाममा र ब्लाष्ट टाइम्सको आजको अवस्थाको विवेचना गर्दा यी दुवै सहोदर हुन्जस्तो भान हुन्छ र दुवै एक–अर्काका गतिविधिलाई अँगाल्दै एक अर्काका कार्यको साक्षी रहेको अनुभूति हुन्छ । निजी क्षेत्रले बिर्सेको छैन कि वि.सं. २०४५ सालको महाभूकम्प, ब्रिटिश गोर्खा भर्ती क्याम्प उठेर जानु स्थानीय निकायले थोपरेको चुङ्गी कर, व्यावसायीहरूको पलायन, विभिन्न सरकारी कार्यालयहरूको स्थानान्तरणका कारणले मृत सहर हुँदै गइरहेको प्रतित हुन थालेको धरान नगरको पुनर्उत्थानका लागि आवाज उठिरहेको समयमा भर्खर व्यावसायिकरूपमा स्थापना भएको ब्लाष्ट टाइम्स हाम्रो पीडाको मुखपत्रको रूपमा हाम्रासामु आएको हो । त्यति बेला धरानको आर्थिक विकासको परिपे्रक्ष्यमा छापिएका समाचार, लेख, रचनाको परिणामको मूल्याङ्कन आफ्नो ठाउँमा छँदै छ तर, यी समाचारहरूले धरानको बारेमा स्थानीय राजनीतिज्ञ, लगानीकर्ता, बुद्धिजीवी, उद्योगी, व्यवसायीलाई धरान नगरको बारेमा सोच्न बाध्य गरायो कि धरानमा व्यवसाय गर्ने हामी कहाँ र कता गइरहेका छौँ । यदि धरान मृतसहर भयो भने हामी धरानवासीको बाँच्ने आधार के ?

यो प्रयासले धरानको आर्थिक विकासबारे तत्कालीन सरकारलाई सोच्न बाध्य बनायो । मलाई सम्झना छ, धरान नगरपालिकाले असुल गर्ने चुङ्गी करका बारेमा पनि केही समाचार र रचनाहरू ब्लाष्ट टाइम्सलगायत धरानबाट त्यतिबेला प्रकाशित हुने अन्य पत्रिकाहरूमा छापिएका नै थिए । एक समय ९३ वटा राइस मिल रहेको धरान नगरमा चुङ्गी करका कारणले अधिकांश विस्थापित हुनु र नगरको व्यवसाय सरेर धरानबाहिर जान थालेपछि सशक्त जनआवाजले सरकार २०५६ सालमा चुङ्गीकर खारेज गर्न बाध्य भयो । २०५० सालपछि आएका धरानका परियोजनाहरू, नयाँ बाटाघाटाका निर्माण, बजार विविधीकरण, आर्थिक क्षेत्रका विस्तार यी सबै कारणले धरानमा आज व्यावसायिक अस्तित्वको सङ्कट छैन र मृत सहर पनि रहेन । हो, अपेक्षाकृत विकास हुन भने सकेको छैन । तर यी सबैकुरामा प्रयासको लागि आभार प्रकट गर्दा आफ्नो सशक्त लेखनबाट सम्बन्धित सरोकारवालालाई जगाउने ब्लाष्ट दैनिकलाई पनि सम्झनु पर्छ । यसैगरी धरानलगायत यो क्षेत्रलाई नै धार्मिक पर्यटकीय क्षेत्रका रूपमा चिनाउन ब्लाष्ट टाइम्सको भूमिका प्रशंसनीय छ । साथै धरान आसपासका रमणीय क्षेत्रहरू यस पत्रिकामार्फत् चिनाउनाले कम से कम आन्तरिक पर्यटनका साथै थोरै मात्रामा भए पनि भारतीय पर्यटकको नियमित आगमन हुन थालेको सर्वविदितै छ ।

सञ्चार माध्यम विशेषगरेर पत्रपत्रिकाहरू समग्र समाज (जसमा उद्योग व्यापार पनि पर्छ) का ऐना हुन् । यी बीचको सम्बन्ध विज्ञापन दिनु र लिनुमा मात्र सीमित हँुदैन । विज्ञापन त एउटा व्यावसायिक लेनदेनको कुरा हो, जसले एउटा व्यवसायीको सम्बन्ध र सम्पर्क सेवा प्रदायकमार्फत् उपभोक्तासँग स्थापित गरेको हुन्छ । धरान नगरमा बजार क्षेत्रका यहाँका उत्पादनको परिप्रेक्ष्यमा आफ्नो स्थापनाकालदेखि नै यो दायित्व ब्लाष्टले निभाउँदै आएको छ । यसका अतिरिक्त यस नगरमा स्थापना हुने उद्योग तथा व्यावसायिक लगानीका लागि सम्भाव्यता आवश्यक सूचना, सम्भावना, उपभोक्ताको अपेक्षा, सरकारी नीति तथा बजार व्यवस्थापनका बारेमा पनि लेखनद्वारा सूचना प्रवाहित गरेर यस नगरको उद्योग तथा व्यावसायिक विकासमा टेवा दिन यो पत्रिकाले अप्रत्यक्ष भए पनि महŒवपूर्ण भूमिका खेल्दै आएको छ, जो निजी क्षेत्रको लगानी आकर्षित गर्न मार्ग दर्शक बनेको छ । धरानको निजी क्षेत्रले बिर्सेको छैन कि माओवादी जनयुद्ध र दोस्रो जनआन्दोलन र त्यसलगत्तै फैलिएको अराजकता, चन्दा आतङ्क, सानो तिनो घटनामा बजार बन्द, यातायात बन्द, सुरक्षाका त्रास सम्बन्धमा त्यतिबेला आफ्नो सशक्त लेखन शैली र समाचारमार्फत् ब्लाष्टले जुन भद्र विरोध गरेको थियो । त्यसले सुव्यवस्था कायम गर्न अनुकूल वातावरण बनाउन पक्कै मद्दत पु¥यायो । यसले सिद्ध गरेको छ कि कलम तरबारभन्दा निकै शक्तिशाली हुँदो रहेछ ।

एक समयमा धरानमा मौलाएको कालोबजारी, काठ तस्करी, अवैधानिक व्यवसाय, कम गुणस्तरका सामान बेचविखनका सम्बन्धमा सशक्त आवाज उठाउँदै आएको यो प्रकाशनको कार्य केहीलाई मन नपरे पनि यसले धरानलगायत यस क्षेत्रकै व्यवसायलाई स्वच्छ र सबल बनाउन सहायकसिद्ध भएको छ र यो कार्यले व्यावसायिक विकासमा मद्दत नै पु¥याएको छ । सत्य र तथ्यपूर्ण सूचना जो यो प्रकाशन समूहबाट प्राप्त हुन्छ । त्यो प्रशंसनीय र विश्वसनीय रहने गरेको छ । सीमापारिबाट हुने अवैधानिक व्यापारको समाचार सम्प्रेषणले नियमानुसार व्यवसाय गर्ने व्यवसायीमा उत्साह जगाएको छ । तर, अझै पनि हाम्रो यो प्रकाशन समूहसँग धेरै अपेक्षा छ, जो पूरा हुन सकेका छैनन् । हाम्रो कोशी प्रदेशमा प्रायः सबै पत्रपत्रिकाहरूमा आर्थिक समाचार कमै प्रकाशित हुने गरेका छन् तथा विवेचना पनि कमै हुने गरेको छ ।

हामी अपेक्षा गर्दछौं कि यो प्रकाशनमार्फत् नियमितरूपमा आर्थिक सूचनामूलक तथा ज्ञानवर्धक सामग्रीहरू, साथै ताजा आर्थिक समाचारहरू प्राथमिकताका साथ प्रकाशित होस् । जसमा धरानका औद्योगिक तथा व्यावसायिक विकासका आवश्यकता तथा त्यसमा रहेका कमी कमजोरी तथा प्रयासहरूको पूर्ण जानकारी पाठकहरूलाई प्राप्त हुन सकोस् । धरानमा आर्थिक क्षेत्रका जानकार, प्राध्यापकहरू, लगानीकर्ताहरू साथै उपभोक्ता अगुवाहरू तथा राजनीतिज्ञ जनप्रतिनिधि, स्थानीय निकाय तथा सरकारी कर्मचारीहरूसमेतलाई एउटा टेबुलमा भेला गरेर धरानको आर्थिक विकास तथा लगानीका बारेमा साथै स्वच्छ तथा पारदर्शी व्यवसायका लागि नियमित छलफल चलाओस् । धरानमा रहेका चार ठूला परियोजनाहरू बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि बजार, धरान औद्योगिक क्षेत्रको विस्तार, नयाँ औद्योगिकग्राम बारेमा पनि सरकारलाई प्रभावित पार्न यो प्रकाशन समूहले आफ्नो कलम चलाउनु आवश्यक छ । साथै धरान र आसपासका स्थानीय उत्पादनको उपभोक्तासम्म विशेष सुविधासहितको विज्ञापनमार्फत् पहिचान गराउन यो प्रकाशनसँग हाम्रो अपेक्षा छ ।

विगत २९ वर्षको निरन्तर प्रयासले यो प्रकाशन समूहमा जस्तोसुकै वित्तीय व्यवस्थापन तथा समस्या भए पनि यसको प्रबन्धकीय व्यवस्थापन उत्कृष्ट रहेको छ, किनकि यो प्रकाशन अत्यन्तै नियमित छ । आज पूर्व क्षितिज प्रकाशन एउटा व्यावसायिक प्रतिष्ठान मात्र नभएर सञ्चार तथा सूचनाको मन्दिरको रूपमा नै रहेको छ । त्यसर्थ यसको संरक्षण गर्नु स्थानीय निकाय, उद्योग वाणिज्य सङ्घलगायत सम्पूर्ण निजी क्षेत्रको जिम्मेवारी रहेको छ । किनकि यो प्रकाशनले धरानको बौद्धिक क्षमता तथा वर्गको प्रतिनिधित्व गरेको छ । जसको लागि हामी सबैले गर्व महसुस गरेका छौँ । वि.सं. २०५० मा यस नगरको जिडिपी करिब चालीस अर्ब रहेकोमा हाल करिब ९० अर्ब जति छ । यसमा वृद्धि अपेक्षाकृतभन्दा कम भए पनि यसको विकासमा यो प्रकाशन समूहको महŒवपूर्ण भूमिका थियो र भविष्यमा पनि रहने नै छ । यसमा दुईमत छैन कि अनेकौं बाधा विरोध, प्रतिस्पर्धाका बावजुद पनि यो प्रकाशन हामी निजीक्षेत्रको सशक्त तथा भरपर्दो सहयात्रीको रूपमा उभिएको छ ।

ब्लाष्ट समूहको २९ वर्षको यो सहयात्राको एक वाक्यमा व्याख्या गर्दा यो भन्नु उपयुक्त नै हुन्छ कि एक समयमा पाठक खोजेको यो प्रकाशनलाई आज पाठकले खोज्दै छ । राष्ट्रियस्तरको ‘ब्लाष्ट’ आज धरानका पाठकहरूको बिहानको नास्तामा टेबुलको आवश्यक परिकार बनेको छ । सन्तुलित, सरल भाषामा, विना कुनै उत्तेजना खबर प्रेषित गर्ने सोच, तथ्यपूर्ण समाचार छाप्ने तथा भ्रामक समाचार नछाप्ने सिद्धान्तका कारणले नै आज यो प्रकाशन समूहले यो मुकाम प्राप्त गरेको छ । यसमा अझ बढोत्तरीका लागि शुभकामना व्यक्त गर्दछु ।