राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजलाई अभिभावकिय संस्थाको रुपमा अघि बढाउने र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्न प्रस्ताव गरेका छन् । 

काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै राजालाई अभिभावकीय भूमिकामा राख्न प्रस्ताव गरेका हुन् । देशलाई दुर्घटनाबाट जोगाउनको लागि नयाँ सम्झौता गरेर राजालाई कुनै न कुनै किसिमको स्पेशको व्यवस्था गर्न उनले आग्रह गरे ।

अध्यक्ष लिङ्देनले नेपाल जस्तो सानो देशलाई यति धेरै जनप्रतिधि भारी हुने बताए । संघीयताले राष्ट्रिय ऋण बढाएको उनले बताए । ‘संघीयता कटौती गरौं,’ अध्यक्ष लिङ्देनले भने । 

‘कांग्रेस, एमाले र माओवादीलाई भन्न चाहन्छु देश र जनताप्रति माया छ भने सुध्रिन चाहनुहुन्छ भने समय बितिगएको छैन । सुध्रनुहोस् । कुनै विद्रोह नगरी सल्लाहबाटै अघि बढौं ।’ विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने, ‘०६२–३ को राजनीतिक परिवर्तनपछि दिल्लीको १२ बुँदे सम्झौतको भरिया बनेर आउनुभयो र त्यही बाटोबाट देशलाई हिँडाउनुभयो । यहाँसम्म आइपुग्दा त्यो बाटो गलत भयो भन्ने तपार्ईंहरुलाई पनि लागेको छ । त्यो बाटोले देशलाई दुर्घटनामा लानेवाला छ ।’

पार्टी अलग अलग भएर चुनाव लडे पनि भ्रष्टाचारको पछिल्ला प्रकरण हेर्दा खाने बेलामा सबैसँगै हुने गरेको अध्यक्ष लिङ्देनले आरोप लगाए ।

आज काठमाडौंमा राप्रपासहित पार्टी निकट संगठनले हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचार काण्डको पूर्ण छानबिनको माग गर्दै प्रदर्शन गरेका थिए ।