सुनसरी । सीमावर्ती क्षेत्रमा नेपालमा प्रतिबन्धित भारतीय माछाको कारोबार भइरहेको पाइएको छ ।

क्वारेन्टाइन विभागले भारतबाट हेल्थ प्रमाण–पत्र विना आयातित मासुजन्य पदार्थमा रोक लगाएपछि जिल्लाका विभिन्न नाका हुँदै अवैधरूपमा ल्याइने प्रतिबन्धित मुङ्ग्री माछाको कारोबार भइरहेको पाइएको हो । सोही क्रममा भारतीय बजारबाट अवैधरूपमा ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित मुङ्ग्री माछा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले मङ्गलबार दिउँसो १ सय १४ केजी प्रतिबन्धित मुङ्ग्री माछा बरामद गरेको हो । भारतबाट अवैधरूपमा ल्याउँदै गरेको अवस्थामा २२ हजार ८ सय रुपैयाँ बराबरको १ सय १४ केजी प्रतिबन्धित मुङ्ग्री माछा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरका प्रमुख डिएसपी भवराज कटवालले जानकारी दिए ।

थाइ हाइब्रिड मुङ्ग्री माछाले स्वास्थ्यलाई असर गर्ने भन्दै नेपाल सरकारले प्रतिबन्ध गरेको मुङ्ग्री माछा अवैधरूपमा भारतीय बजारबाट ल्याएर सुनसरी, सप्तरी, सिरहा सहितका जिल्लामा बेच्ने गरिन्छ । उक्त माछा सेवन गर्दा क्यान्सर, अर्थराइटिस, मधुमेहलगायतका घातक रोगहरू निम्त्याउनुका साथै यसले पर्यावरणलाई असर गर्ने भन्दै भारतमा पनि सो माछा प्रतिबन्ध गरिएको पशु क्वारेन्टाइन कार्यालय भण्टाबारीका प्रमुख सरीलाल चौधरीले बताए । विगतदेखि नै सुनसरीका विभिन्न नाका हुँदै यस्ता प्रतिबन्धित माछा नेपाल भित्र्याउने गिरोह सक्रिय भएपछि सीमामा तैनाथ सुरक्षाकर्मीसँग समन्वय गरेर रोकथाम गर्न लागिपरेको उनको भनाइ छ ।

प्रतिबन्ध लगाइएको माछा नेपालमा खुलेआम बिक्री हुने गरेको छ । भारतको आन्ध्रप्रदेशमा उत्पादन हुने र विषादीयुक्त रसायनसहित नेपाल आउने माछा नेपाली बजारमा छ्याप्तछ्याप्ती भेटिने गरेका छन् । जिउँदो बेचिने मुङ्ग्री माछा भने बङ्गाल र बिहारबाट मोरङको विराटनगर सुनसरीको भण्टाबारी, उल्टी, लौकही, लाही, साहेवगञ्ज, कप्तानगञ्ज, अमडुवालगायत नाका हुँदै नेपाली बजारमा भित्रिने गरेको पाइन्छ ।