आजदेखि धरानमा सुरु भएको धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताको दोस्रो संस्करणको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले औपचारिक उद्घाटन गरेका छन् । 

धरान आसपासका विद्यालयका १६  टिमले सहभागिता जनाउने प्रतियोगितामा १२ कक्षासम्म अध्ययन गरिरहेका खेलाडीले सहभागिता जनाउँदैछन्  । 

औपचारिक उद्घाटन कार्यक्रममा संघीय सांसद सुशीला श्रेष्ठ, कोशी प्रदेश सभाका सांसदहरु विजयकुमार राई, रमेशकुमार बस्नेत, वडाध्यक्षहरु मनोज भट्टराई, मुरारी भट्टराई, प्रवीण राई, कृष्ण भट्टराईलगायतको उपस्थिति रहेको थियो । 

प्रतियोगिताको विजेताले नगद २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले नगद १० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने मोस्ट भ्यालुएवल प्लेयरले नगद २ हजार ५ सय, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका  उत्कृष्ट स्कोरर, उदयीमान खेलाडीलेसमेत जनही नगद २ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Ashok Rai Minister

प्रतियोगिताको फाइन खेलअघि थ्री पोइन्ट कम्पिटिसनसमेत हुनेछ । पहिलो चरणमा कम्पिटिसनमा सहभागी खेलाडीले १ मिनट थ्री पोइन्ट सट गर्नेछन् ।  फाइनल चरणमा छनोट भएका मध्येबाट एक मिनेटमा बढी  पोइन्ट  गर्ने  पोइन्ट च्याम्पियन घोषित हुनेछन् । थ्री पोइन्ट च्याम्पियनले नगद पुरस्कार २ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको आयोजना धरानका उदयमान बास्केटबल खेलाडी रहेका दिवंगत रेवाहाङ राईको स्मृतिमा सुरुवात गरिएको हो ।

धरान १८ निवासी रेवाहाङ राईको १६ वर्षको उमेरमा २०७७ माघ २० गते निधन भएको थियो । दश कक्षामा अध्यन गरिरहेको रेवाहाङ राईको असामयिक निधनपछि उनको स्मृति र सम्मानमा अभिभावकले धरान मेघा हिमालयन कलेज र धरान बास्केटबल संघको सहकार्यमा गतवर्षदेखि अक्षयकोष स्थापना गरी प्रतियोगिता आयोजनाको सुरुवात गरेका हुन् ।

अक्षयकोष दुई लाख रुपैयाँको रहेको धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्बूले जानकारी दिए ।