विराटनगर । मोरङ सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मोतिचन्द साहको घरमा कोठा भाडामा लिएर बस्ने ब्रिजलाल साह सोनारले सञ्चालन गरेको ‘मनिष ज्वेलर्स’ मा चोरी भएको छ ।

सटरमुनी लगाइएको इँटाको देवाल भत्काई ज्वेलर्समा रहेको सुन, चाँदीका गरगहना चोरी भएको हो । भदौ १५ गते बिहान ४ बजेको समयमा सुन पसलबाट एक तोला सुन र नगद पैसा चोरी भएको थियो ।

चोरी गर्ने मोरङ रतुवामाई नगरपालिका–५ बस्ने वर्ष २५ का सञ्जय पासवान र सोही ठाउँका वर्ष २२ का मुना मण्डल रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । चोरी गरेर भाग्ने क्रममा  इलाका प्रहरी कार्यालय रङ्गेली र मातहतको प्रहरी चौकी डाइनियाले उनीहरूलाई पक्राउ गरेको हो ।  प्रहरीले उनीहरूको साथबाट सुनको गरगहना,  ३४ ट्याब्लेट लागूऔषध र चोरी गर्न प्रयोग हुने साधनसमेत फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैलाई  लागूऔषध तथा चोरी मुद्दामा मोरङ अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।