सामान्य विवादका कारण मट्टितेल छर्केर आगो लगाइएका धरान १७ का अजितमान बिकको घाउ चेकजाँचका लागि प्रहरीले प्रक्रिया अघि बढाएको छ ।
घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जानकारी दिए ।

हेर्दा सामान्य जलेको जस्तो देखिए पनि बिपी प्रतिष्ठान 'बर्न हस्पिटल' नभएका कारण रेफर गर्ने सम्बन्धी चिकित्सकसँग परामर्श भइरहेको डिएसपी मल्लले जानकारी दिए ।

गत भदौ १३ गते बुधबार धरान १७ का ४१ वर्षीय अजितमान बिकलाई सोही स्थान बस्ने जङ्गे कुमाल भनिने जंगबहादुर राई  र उनकी श्रीमती जयकुमारी राईले मट्टितेल  छर्केर आगो लगाएको पीडितले बताएका छन् ।

आगो लगाउने दुबैलाई प्रहरीले सोही दिन नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।  गत बुधबार स्थानीय एक पसलमा खानपिन गरिरहेको बेला जंगबहादुर र उनकी श्रीमती जयकुमारीले मट्टितेल खन्याएर आगो लगाएको पीडित बिकले बताए ।

पीडित बिकको अनुहार, छाती, पेट, तथा हात जल्दा उनी गम्भीर घाइते भएका छन् । उनको हाल  बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानस्थित सर्जरी २ को आइसोलेसन वार्डको बेड न १ मा उपचार भइरहेको छ ।