धरान । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा काठमाडौँबाट बुधबार पक्राउ परेका छन् ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको टोलीले दिउँसोतिर पक्राउ गरेको हो । उनलाई नौ किलो सुन प्रकरणमा पक्राउ गरिएको छ । २०७९ पुस १० गते फ्लाई दुबईको उडानबाट आएका चिनियाँ नागरिकले ल्याएको विद्युतीय चुरोट (भेप)भित्र सुन लुकाएर ल्याएको अवस्थामा नौ किलो सुन भेटिएको थियो ।

उक्त घटनामा पूर्वसभामुख महराका छोरा राहुलको चिनियाँ नागरिकसँग पटक–पटक फोनसम्पर्क भएको देखिएको थियो । सिआइबीको अनुसन्धानले उक्त तथ्य फेला परेपछि राहुललाई पक्राउ गरिएको हो । यस घटनामा कृष्णबहादुर महराले पनि फोनसम्पर्क गरेको अनुसन्धानमा खुलेको छ । तर, हालसम्म उनी यस घटनामा तानिएका छैनन् । यता महराले भने आफू प्रहरीलाई सहयोग गर्न तयार रहेको बताउँदै आइरहेका छन् ।

प्रहरी प्रवक्ता डिआईजी कुवेर कडायतले राहुललाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए । महरा र उनका छोरा नै नौ किलो सुन तस्करी प्रकरणमा जोडिएका थिए । २०७९ पुस १० गते चिनियाँ नागरिकले दुईवटा सुटकेसभित्र ७३ वटा प्याकभित्र ७ सय ३० वटा भेप ल्याएको अवस्थामा पक्राउ परेका थिए । उक्त भेपभित्र लुकाएर ल्याएको ९ किलो ११ दमशलव ५ सय २४ ग्राम सुन भन्सारको गोदामबाटै चोरेर बिक्री गरिएको थियो ।