विराटनगर । नवजात शिशु निःसन्तान दम्पतीलाई पाँच लाखमा बेचेको आरोपमा पक्राउ परेका डाक्टर तपेश्वरलाल कर्णले अकुत सम्पत्ति कमाएको अनुसन्धानबाट खुलेको छ ।

कोशी अस्पतालका पूर्व मेसुसमेत रहेका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर कर्णले अस्वभाविक रूपमा सम्पत्ति आर्जन गरेको प्रहरी अनुसन्धानमा देखिएको हो । डा. कर्णले अस्वभाविक रूपमा सम्पत्ति आर्जन गरेको देखिएपछि सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान सुरु गर्ने भएको छ । एक दशकदेखि अवैध गर्भपतन र नवजात शिशु बेचेको आरोप लाग्दै आएका कर्णको विराटनगरमा चारवटा, काठमाडौँमा एउटा घर र करोडौँ रुपैयाँ आर्जन गरेको अनुसन्धानको क्रममा देखिएपछि सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान गर्ने तयारी गरेको हो । विराटनगरको कोशी अस्पतालअगाडि १६ धुर जग्गामा साढे चार तलाको घर रहेको छ । यो घर उनको श्रीमती सरिता कर्णको नाममा रहेको पाइएको छ । उनले २०६७ सालमा जग्गा किनेर त्यसको एक वर्षपछि घर बनाएका हुन् ।

त्यसैगरी विराटनगर–२ तीनपैनी चोकमा तीन तलाको घर छ । उनी हाल तीनपैनीको घरमा बस्दै आएका छन् । यस्तै विराटनगर–७ वीरेन्द्र सभागृहअगाडि पनि घर रहेको छ । डा. कर्णले बिरामी जाँच गर्ने विराटनगर–७ हस्पिटल चोकमा रहेको दीपेश मेडिकल हल पनि उनकै घर हो । १७ धुर जग्गामा बनाएको एक तलाको उक्त घरमा कर्णले क्लिनिक चलाउँदै आएका छन् । दीपेश मेडिकल हलमा अवैध गर्भपतन गराउने गरेको खुलेको छ । अवैध सम्बन्धबाट बसेको गर्भलाई मोटो रकम लिएर गर्भपतन गराउने र निःसन्तान दम्पतीलाई शिशु बिक्री गर्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । कर्णको काठमाडौँ बूढानिलकण्ठमा पनि १० आनामा घर निर्माण भइरहेको अनुसन्धानबाट देखिएको छ । उनको मोरङको बूढीगङ्गा गाउँपालिकाकोे हात्तीमुडामा साढे २ बिघा जग्गा रहेको छ । उक्त जग्गा पत्नी सरिताको नाममा रहेको छ । राजविराजमा पनि उनको जग्गा रहेको पाइएको छ । अवैध धन्दाबाट डाक्टर कर्णले अकुत सम्पत्ति आर्जन गरेको देखिएपछि शुद्धीकरण विभागलाई अनुसन्धानको लागि पत्राचार गर्ने तयारीअनुरूप प्रमाण सङ्कलन गर्ने काम गर्दै आएको प्रहरीले जनाएको छ ।

‘अहिलेसम्म अस्वभाविक रूपमा डाक्टर कर्णले सम्पत्ति आर्जन गरेको देखियो । यसको पुष्टि हुने आधारहरू प्रारम्भिक चरणबाट देखिन्छ’ मोरङ प्रहरीका डिएसपी रञ्जनकुमार दाहालले भने, ‘कसरी यति धेरै सम्पत्ति आर्जन भयो, त्यो पाटोबाट पनि हामीले केलाउने प्रयत्न गरेका छौँ ।’ मोरङ प्रहरीले डा. कर्ण र उनका परिवारको नाममा कति सम्पत्ति रहेको भन्ने विषयमा जानकारी गराउन बुधबार मालपोत कार्यालय र नेपाल राष्ट्र बैङ्कमा पनि पत्राचार गरेको छ । ‘हामीले मालपोत र राष्ट्र बैङ्कलाई पनि पत्राचार गरिसकेका छौँ’ डिएसपी दाहालले भने, ‘जानकारी आइसकेको छैन । केही समय लाग्ने छ ।’ मालपोत र राष्ट्र बैङ्कबाट पत्र प्राप्त भएपछि उनको कुल सम्पत्ति कति हो त्यो प्रष्टरूपमा आउनेछ । उनले सम्पत्ति लुकाउने छिपाउने उद्देश्यले ससुरालीको नाममा पनि राखेको बुझिएको प्रहरीले जनाएको छ । त्यसतर्फ पनि अनुसन्धान अगाडि बढाएको डिएसपी दाहालले जानकारी दिए ।

पछिल्लो पटक अविवाहित जोडी भोजपुरको हतुवागढी गाउँपालिकाकी २६ वर्षीया महिलाबाट जन्मिएको एक दिनको शिशु पाँच लाखमा बेचेको खुलेपछि अनुसन्धान सुरु गरिएको थियो । कर्णले १४ असारमा ५ लाख रुपैयाँ लिएर मोरङको कटहरी गाउँपालिका–२ की मनमाया राजवंशीलाई नवजात शिशु बेचेको अनुसन्धानबाट देखिएको हो । शिशु बेचेको आरोपमा कर्णसहित ६ जना पक्राउ परेका छन् । कर्णसहित महिलाका प्रेमी भोजपुर हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राईलाई पक्राउ गरेको हो । थप पक्राउ पर्नेमा ग्रिनक्रस अस्पतालमा कार्यरत ३३ वर्षीया सरसफाइकर्मी सुधा राजवंशी, कटहरी गाउँपालिका–२ की ४६ वर्षीया दिलमाया राजवंशी, ३० वर्षीय सूर्यनारायण राजवंशी, सिराहाको कल्याणपुर नगरपालिका–१२ की ३८ वर्षीया नर्स निर्मला यादव रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी  दाहालले जानकारी दिए ।

कोशी अस्पताल स्रोतका अनुसार डा. कर्णले त्यस्ता शिशुलाई कम्तीमा एक लाखदेखि पाँच लाखभन्दा बढी रकमसम्म लिएर निःसन्तान दम्पतीलाई बिक्री गर्दै आएका थिए । विशेष गरी अवैध सम्बन्धबाट गर्भ रहने तथा अविवाहित प्रेमजोडीसँग डा. कर्णलाई भेट गराउने गिरोह नै सक्रिय रहेको थियो । २०६३–०६४ सालमा कोशी अस्पतालबाट तीन जना नवजात शिशु अचानक हराउँदा अस्पतालमा ठूलो हङ्गामा मच्चिएको थियो । तर, उक्त विषय हालसम्म अज्ञात छ । डा. कर्ण २०७० चैत १९ देखि २०७१ असोज १४ सम्म कोशी अस्पतालको मेसु रहेका थिए ।