विराटनगर । विराटनगरस्थित ग्रिनक्रस हस्पिटलबाट हराएको एक दिनको नवजात शिशु कोशी अस्पतालका पूर्वमेसु तथा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्णले निःसन्तान दम्पतीलाई बेचेको खुलासा भएको छ ।

डाक्टर कर्णले मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलकी दिलमाया राजवंशीलाई नवजात शिशु बेचेको पुष्टि भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । विवाह भएको एक दशक बितिसक्दा पनि दिलमायाको छोरा सूर्यनारायण राजवंशी दम्पतीको सन्तान भएको थिएन । सन्तान नभएपछि दिलमायाले छोरा बुहारीको लागि डाक्टर कर्णसँग ७ लाखमा नवजात शिशु किनेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ‘डाक्टर कर्णले पाँच लाख रुपैयाँ लिएका छन् । दुई लाख रुपैयाँ हस्पिटलमा उपचारमा खर्च भएको दिलमायाले प्रहरीलाई बयानमा बताएकी छन्’–घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने ।

असार १३ गते अविवाहित जोडीबाट ग्रिनक्रस हस्पिटलमा छोरीलाई जन्म भएपछि नवजात शिशुलाई एनआइसियूमा राखेर उपचार गर्नुपर्ने अवस्था थियो । नवजात शिशु लिएर राजवंशी दम्पतीले विराट नर्सिङ होममा लिएर गएका थिए । विराटमा उपचारको क्रममा दुई लाख रुपैयाँ खर्च भएको दिलमायाले बताएकी छन् । नवजात शिशु लिने र बेच्ने डाक्टरलाई अहिले मोरङ प्रहरीमा राखेर अनुसन्धान भइरहेको एसपी दीपक पोखरेलले बताए । ‘डाक्टर कर्णले अरू पनि नवजात शिशु बेचेको घटना आइरहेको छ’ उनले भने, ‘त्यस विषयमा पनि हामीले अनुसन्धान सुरु गरेका छौं । कति नवजात शिशुहरू डाक्टर कर्णले बेचेका छन्, त्यसबारे पनि अनुसन्धान गर्दैछौँ ।’

कर्णले यसअघि पनि शिशुलाई मोटो रकम लिएर निःसन्तान दम्पतीलाई उपलब्ध गराउँदै आएको हस्पिटलका चिकित्सक बताउँछन् । उनी लामो समयदेखि यस्तो कार्यमा सक्रिय रहेको हुनसक्ने भएकोले प्रहरीले यसतर्फ पनि अनुसन्धान अगाडि बढाएको छ । कर्णको धन्दा नै अवैध गर्भपतन गराउने र त्यस्तो सम्बन्धबाट जन्मिएका शिशुको व्यवस्थापनका नाममा अभिभावकबाट समेत रकम लिने र त्यही शिशुलाई मोटो रकम लिएर निःसन्तान दम्पतीलाई बिक्री गर्ने देखिएको छ । अवैध सम्बन्धबाट गर्भ रहने तथा अविवाहित प्रेम जोडीसँग कर्णको भेट गराउने गिरोह नै सक्रिय रहेको अस्पताल स्रोतको भनाइ छ । नर्सस्तरका केही स्वास्थ्यकर्मी पनि उनको सहयोगी रहेको उनलाई नजिकबाट चिन्ने चिकित्सकहरू बताउँछन् । त्यस्ता जोडीको सम्बन्धबाट बसेको गर्भ पतन गराउने र गर्भपतन गर्न नमिलेर जन्मिने शिशुको व्यवस्थापनका लागि अभिभावकबाटै रकम लिएर कर्णले अन्यत्र बिक्री गर्दै आएको बुझिएको छ ।

डा. कर्णले १० वर्षअघि मोरङको ग्रामथान गाउँपालिकाका एक निःसन्तान दम्पतीलाई ५ लाख रुपैयाँ लिएर अवैध सम्बन्धबाट जन्मिएकी शिशु उपलब्ध गराएका थिए । अस्पताल स्रोतका अनुसार डा. कर्णले कोशी अस्पतालमा स्त्री रोग विशेषज्ञका रूपमा करिब अढाई दशक काम गरेर मनग्य आम्दानी गरेका थिए । त्यस अवधिमा उनले अवैध सम्बन्धबाट जन्मिएका दर्जनभन्दा बढी शिशुलाई मोटो रकममा बिक्री गरेका थिए ।

त्यसबेला २०६३/०६४ मा अस्पतालबाट तीन जना नवजात शिशु अचानक हराउँदा अस्पतालमा ठूलो हङ्गामा मच्चिएको थियो । ती शिशु पनि डा. कर्णकै सक्रियतामा निःसन्तान दम्पती समक्ष पुगेको आशङ्का गरिएको अस्पतालका कर्मचारीहरू बताउँछन् । तर, राजनीतिक पहुँच प्रयोग गरेर उनले छानबिन हुनै नदिएको उनीमाथि आरोप लाग्ने गरेको छ ।

अविवाहित प्रेम जोडीबाट जन्मिएकी शिशुलाई विराटनगरस्थित ग्रिनक्रस हस्पिटलबाटै बेपत्ता गरेको आरोपमा मोरङ प्रहरीले कर्णसहित दुई जनालाई शुक्रबार पक्राउ गरेर अनुसन्धान सुरु गर्दै आएको छ । प्रहरीले कर्णलाई पक्राउ गरेपछि गत शुक्रबारदेखि विराटनगरस्थित कोशी अस्पतालमा भर्ना भएका थिए । अस्पतालले मङ्गलबार दिउँसो डिस्चार्ज दिएपछि प्रहरीले न्यायिक हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ । उच्च रक्तचाप र मधुमेहको समस्या रहेको भन्दै कर्ण कोशी अस्पतालको जेनरल वार्डको सिङ्गल क्याबिन २ सय १२ नम्बरमा बसेका थिए । पक्राउ परेका  कर्ण र भोजपुरको हतुवागढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईलाई प्रहरीले ‘व्यक्ति बेपत्ता पारेको कसूर’ मा आइतबार पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

पक्राउ परेका राई २६ वर्षीय किशोरीका प्रेमी हुन् । १३ असारमा ती किशोरीको ग्रिनक्रस हस्पिटलमा प्रसूति भएको थियो । उनले ‘नर्मल डेलिभरी’ मार्फत् छोरीलाई जन्म दिइन् । दुई जनाबीचको सम्बन्धबाट गर्भ बसेपछि गोविन्दले प्रेमिकालाई विराटनगर लिएर आएका थिए । सुरुमा ग्रिनक्रस अस्पतालनजिकै रहेको दीपेश मेडिकल क्लिनिकमा लिएर आए । उक्त क्लिनिक डाक्टर कर्णको हो । क्लिनिकमा आएका बिरामी भर्ना गर्नुपर्दा उनले ग्रिनक्रस अस्पतालमा लगेर उपचार गर्दै आएका छन् । उनको क्लिनिकबाट ग्रिनक्रस ५० मिटर पश्चिममा रहेको छ । कर्णले ती किशोरीका प्रेमीसँग ३५ हजार रुपैयाँ लिएर प्रसूति गराएका थिए । उनीहरूबाट जन्मिएको शिशुको व्यवस्थापन गर्ने जिम्मा पनि कर्णले लिए । किशोरीलाई वास्तविक परिचय लुकाएर अस्पताल भर्ना गरेको पाइएको छ । अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ तथा ठेगाना सुनसरीको रामधुनी–११ उल्लेख छ । व्यथा लाग्ने औषधि खुवाएर प्रसूति गराएपछि युवतीलाई अस्पतालले १४ असार दिउँसो डिस्चार्ज दिएको अस्पतालको रेकर्डमा देखिन्छ । डिस्चार्ज हुँदा नवजात शिशुलाई राईले हस्ताक्षर गरेर बुझेको देखिन्छ ।

ती युवतीले ग्रिनक्रस अस्पतालमा ९ सय ५० ग्रामको स्वस्थ शिशुलाई जन्म दिएको भनिएको थियो । प्रारम्भिक अनुसन्धानबाट एक केजीभन्दा बढी तौल भएको शिशु जन्म भएको खुलेको छ । त्यो शिशु जन्मिने क्रममा डा. कर्णको संलग्नता रहेको र शिशुको बन्दोबस्तीका लागि बाबु गोविन्दबाट रकम लिएको पुष्टि भएको छ ।