बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरोले सोमबार पूर्व उप–प्रधानमन्त्री विजयकुमार गच्छदारलाई बयान लिएर छाडेको छ । 

पूर्व उप–प्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । २०७४ वैशाखमा उप–प्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको नेतृत्व गरेका गच्छदार २०६८ मा गृहमन्त्री थिए । भौतिक योजना तथा निर्माण मन्त्री हुँदा गच्छदार जग्गा हिनामिना प्रकरणमा संलग्न देखिएका थिए । 

संगठित रुपमा सरकारी लिखत कीर्ते गरेर बालुवाटारस्थित ललिता निवासभित्रको १४७ रोपनी जग्गा हिनामिना प्रकरणमा गच्छदार संलग्न रहेको सिआईबीको ठहर छ । जग्गा हिनामिना आरोपमा १८ जना हिरासत छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा २०७६ माघ २२ गते दायर गरेको मुद्दामा समेत गच्छदारलाई अभियुक्त बनाइएको छ । उनलाई ९ करोड ६५ लाखको बिगो दाबी गरिएको थियो ।

कांग्रेसका पूर्व उपसभापति समेत रहेका गच्छदारसहित १ सय ७५ जनाविरुद्धको मुद्दा विशेष अदालतमा विचाराधीन छ । गच्छदारलाई अदालतले २०७८ असार ३० मा १० लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।