ऐतिहासिक राजारानी मन्दिर र दरबार क्षेत्र, धिमाल जातिको ऐतिहासिक धार्मिक क्षेत्र, राजापोखरी, रानीपोखरी, छोरीपोखरी, सुनाखरीको राजधानी, विभिन्न प्रजातिका चराचुरङ्गी, विभिन्न धर्मको साझास्थल अन्तर धार्मिक शान्तिपार्कलगायतका विशेषता बोकेको राजारानी धार्मिक तथा पर्यटकीय क्षेत्रल निर्माण गर्न स्थानीय युवाले चासो देखाएका छन् । 

लेटाङ नगरपालिका–१ स्थित राजारानी धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न लेटाङका युवा अभियानकर्मी राजु गौतमसहितको टोलीले जानकारी लिएको छ । 

राजारानी धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न के–कस्ता प्रयास अघि बढेका छन् भन्ने विषयमा वडा नं १ का वडाध्यक्ष विष्णु मगरले टोलीलाई जानकारी गराएको छ । युवा अभियानकर्मीसँगको भेटमा वडाध्यक्ष मगरले विगतका प्रयास, वर्तमानका कार्य तथा भविष्यका योजनाका बारेमा जानकारी दिएका थिए । 

हाल राजारानी धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि वडा नं १ र सिङ्गो नगरपालिका लागेको वडाध्यक्ष मगरले बताए । आन्तरिक तथा बाह्य पर्यटकलाई राजारानी दरबार इन होटेलले सेवा दिँदै आएको छ । विगतका तुलनामा यस क्षेत्रको विकासमा अतुलनीय परिवर्तन भएको र यसको विकासका लागि वडा नं १ मात्र नभई समग्र नगरपालिका लाग्नुपर्ने अभियानकर्मी गौतमले बताए । 

यो क्षेत्रमा विश्वमै अन्यत्र नपाइने ३ जातका सुनाखरी पाइन्छन् भने जंगलमा ४८ जातका सुनाखरी फुल्ने गरेको स्थानीय बताउँछन् । यो क्षेत्रलाई सुनाखरीको राजधानी भनिंदै आएको छ । 

लेटाङ बजारदेखि ६ किलोमिटरको दुरीमा रहेको राजारानीको उचित प्रचार नहुँदा यो क्षेत्रमा पर्यटन भित्राउन नसकिरहेको स्थानीयको गुनासो छ ।                 

राजारानीलाई धिमाल जातिको उत्पत्तिस्थल मानिन्छ । पूर्वक्षेत्रमा बसोबास गर्दै आएका धिमालहरुको जात्री पर्वका अवसरमा प्रत्येक वैशाख २ गते मेला लाग्ने गरेको छ ।