नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)  कोशी प्रदेशको अध्यक्षमा पुण्यप्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन् । 

विराटनगरमा नाट्टाको शनिबार सम्पन्न भएको ११ औँ वार्षिक साधरणसभा तथा ७ औँ अधिवेशनबाट भट्टराई अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उनी यसअघि नाट्टाको वरिष्ठ उपाध्यक्ष रहेका थिए । 

नाट्टाको अध्यक्षमा निर्वाचित भएका भट्टराईले कोशी प्रदेशको पर्यटकीय क्षेत्रको प्रवर्धन र विकासमा सरकारसँग हातेमालो गरेर अगाडि बढ्ने बताए । पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना बोकेको कोशी प्रदेशमा प्रचार–प्रसारको कारणले थुप्रै गन्तव्यहरू ओझेलमा परेको बताए । 

यसको प्रवर्धन गर्दै पर्यटकीय गन्तव्यको रूपमा कोशी प्रदेशलाई अगाडि बढाएर लैजान नाट्टा र सरकार हातेमालो गरेर अगाडि बढ्नुपर्ने उनले बताए । 

आर्थिक मन्दीको कारणले ट्राभल व्यवसाय धराशायी बन्दै गएको बताउँदै नवनिर्वाचित अध्यक्ष भट्टराईले राज्यले धरौटीस्वरुप एक लाख रुपैयाँ लिने नियम हटाउनुपर्नेमा जोड दिए ।

नाट्टाको निवर्तमान अध्यक्षमा उदय श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा शेखर ढकाल, उपाध्यक्ष सजीत तामाङ, महासचिव नवराज खरेल, सचिव जीवन पराजुली, कोषाध्यक्ष सुरेन्द्र भण्डारी रहेका छन् । नाट्टाको सदस्यहरूमा मोहन सेलवाल, धर्म शिवाकोटी, गौरव श्रेष्ठ र गोपाल खड्का रहेका छन् । 

नाट्टाको साधारण सभा र अधिवेशनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले  गरे । कार्यक्रममको उद्घाटन गर्दै उनले निजी क्षेत्रसँग सहकार्य र समन्वय गरी कोशी प्रदेशको पर्यटकीय क्षेत्रको विकासमा सरकार लागि पर्ने बताए । 

कार्यक्रममा नाटा केन्द्रीय अध्यक्ष रमेश थापा, पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका सचिव सञ्जयकुमार राई, नाट्टाका गण्डकी र मधेश प्रदेशका  अध्यक्षको पनि उपस्थिति  थियो ।