‘सेतो पोशाक, सेतै दाह्री– केश, अग्लो कद र मुहारमा मुस्कान । स्वास्थ्य, शिक्षा, पर्यटन र परोपकारको अभियान ।। राजीव हलवाई उर्फ हाइकिङ बाबाको चिनारी हो । धरानमा रहेको सेवक अभियान नामक संस्थाका संस्थापक उनी अभियन्ताका रुपमा काम गरिरहेका छन् । उनको अभियानअन्तर्गत पदयात्राको २ सय ७५ औं हप्ता, सरसफाइको १ सय ५० औं हप्तामा पूरा भइसकेको छ । यसै सन्दर्र्भमा ब्लाष्टखबरले गरेको कुराकानीमा उनले आफ्नो अभियानबारे विचार राखेका छन् ।  

***

नमस्कार म राजीव हलवाई । सेवक अभियान नामक संस्था धरानमा छ, त्यसको मैले अगुवाइ गरिरहेको छु, अभियन्ताका रुपमा । 

यो विशुद्ध सामाजिक संस्था हो । सामाजिक संस्था विभिन्न किसिमका हुन्छन् । हाम्रो चाहिं संस्थाको उद्देश्य पहिले सुरुमा मानिसहरु आफू स्वस्थ रहनुपर्छ, ‘हेल्थ’ नै सबैभन्दा ठूलो कुरा हो भनेर शरीरलाई तन्तुरुस्त राख्नका लागि निरन्तर रुपमा स्वास्थ्यका लागि पदयात्रा भनेर अभियान गरिरहेका छौं । आगामी यात्रा २७५ औं पदयात्रा हुनेछ । 

शरीर स्वस्थ भइसकेपछि शिक्षा आवश्यक पर्र्छ । शिक्षाबिना कुनै पनि मानिसले नेतृत्व पनि लिन सक्दैन । ज्ञान प्राप्त गर्न सक्दैन । त्यसैले शिक्षालाई ‘फोकस’ गरेर प्रत्येक वर्ष प्रदेशभरि यहाँका पहाडी तथा विकट ठाउँमा विपन्न वर्गलाई सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिका हजारौंलाई विद्यालय पोशाक वितरण गरेका छौं । स्वेटर, उनी टोपीलगायत सामग्री वितरण गरेका छौं । सामुदायिक विद्यालयतर्फ आकर्षित गर्न, जाडोमा काम्दै पढ्न नपरोस् भनेर उत्प्रेरणा दिन अभियान चलाएका छौं । 

हामीले विभिन्न संघसंस्था, स्थानीय निकाय, संस्थाकै सदस्य र शुभचिन्तकबाट वार्षिक रुपमा हामीले सहयोग प्राप्त गर्दै आएका छौं । 

हाइकिङमा पहिला धेरै मास हुन्थ्यो । प्रकोपका कारण धेरै कम हिंड्न थाल्नु भएको छ । अहिले स्थानीय सरकारले शनिबारकै दिन विभिन्न कार्यक्रम आयोजना गर्ने भएकाले हामी उक्त अभियानको सहयोगका लागि खटिरहेका छौं । पूर्ण रुपमा हाइकिङ भइरहेको छैन, अभियानलाई पनि जोड्नुपर्ने भएकाले संयुक्त रुपमा कार्यक्रम आयोजना भइरहेको छ । 

२०७४ साल भदौ ३१ गते तत्कालीन नगर प्रमुख तारा सुब्बाबाट यो अभियान सुरु भएको हो । उहाँ स्वयम् आफैं हिंड्र यो अभियानको सुरुवात गरिएको थियो । 

स्वास्थ्य, शिक्षा, वातावरण, पर्यटनका क्षेत्रमा हामीले काम गर्ने उद्देश्यले संस्था स्थापना गरेका हौं । 

Rajiv Halwai Hiking Baba Dharan Photo

वातावरण जबसम्म सफा शुद्ध हुँदैन हामीले स्वास्थ्य लाभ लिन सक्दैनौं । सरसफाइको क्षेत्रमा हामी आगामी भदौ ४ गते १५० हप्तामा काम गरिरहेको हुनेछौं ।

१५० औं हप्तामा हाम्रो विशेष कार्यक्रम रहने छ । वडा नं. १ मा विशेष सरसफाइ अभियान सञ्चालन गरिने छ । यो डेंगुको प्रकोपको बेला जनचेतना पनि हुन्छ । र, सरसफाइ पनि हुन्छ । नगर प्रमुखलाई हामीले निम्तो दिएका छौं, सायद आउनुहुन्छ होला । 

वातावरण स्वच्छ नभई हामीले पर्यटकलाई पनि आकर्षित गर्न सक्दैनौं । त्यतिमात्र होइन व्यवहारिक वातावरणको निर्माण पनि गर्न हामीले जरुरी छ । यहाँ आउने पर्यटकलाई स्वागत सत्कार गर्नुपर्छ । पर्यटकलाई आकर्षित गर्ने वातावरण धरानमा हुनुपर्छ भनेर हामी वातावरणको क्षेत्रमा पनि काम गरिरहेका छौं । 

पर्यटनको क्षेत्रमा हामी आफैं पनि देशका विभिन्न भागमा वर्षमा पाँचसात पटक जान्छौं । र उहाँहरुलाई धरान घुम्ने निम्तो पनि दिएर आउँछौं । नेपाल र भारतलगायतका विभिन्न स्थानहरुमा  । 

नगर प्रमुख र हाम्रो चाहिं एउटै खाल्को विचार र काम भएको जस्तो देखियो । हामीले पहिलेदेखि गर्दै आएको कामलाई सपोर्ट गरेको पनि देखियो । हुन त उहाँले हाम्रो हेरेर गर्नु भएको त होइन होला । तर पनि अहिले आएर हामी उहाँको अभियानमा पनि जोडिएका छौं । उहाँ नगरको अगुवाइ गर्ने मान्छे, हामी त एउटा संस्थाको मात्र गर्ने भयौं । त्यसैले उहाँलाई नै साथ सहयोग दिएर हामीले अभियान गरिरहेको छौं । 

यो अभियानमा हाम्रो प्रमुख उद्देश्य धरानलाई स्वस्थ नागरिकयुक्त सहर ‘हेल्दी सिटी’ बनाउने अभियान हो । नगर प्रमुखले सहयोग गरिरहनु भएको छ । 

हो, मलाई हाइकिङ बाबा पनि भन्छन् । भनिरहेका छन् । यो उत्प्रेरणा हो । अहिलेसम्म पदयात्रा गर्न सकिरहेको पनि छु ।

धरानवासीलाई म भन्न चाहान्छु– स्वास्थ्यभन्दा ठूलो केही पनि हुँदैन । स्वस्थ रहनलाई खानपिन, आहार, विहार र विचारमा ध्यान पुर्याउनुपर्छ । 

धरानमा प्रकोप छ । सयममै नियन्त्रण भएको छैन । सबैले साथसहयोग गर्नुपर्छ । डरत्रास छ । धरानमा पर्यटकमात्र होइन हाम्रा आफन्त पनि आइरहेका छैनन् । धरानलाई ढुक्कको वातावरण बनाउन आवश्यक छ ।