सुनको सिक्री लुटपाट गराएको आरोपमा मोरङको विराटनगरबाट एक जना पक्राउ परेका छन् । मोरङ विराटनगर महानगरपालिका–३ की खड्गमाया कार्कीको सुनको सिक्री चोरी गरेको आरोपमा सोही ठाउँ बस्ने अङ्कित भनिने हरकित साहलाई पक्राउ गरिएको छ । 

साउन १९ गते विराटनगर–४ स्थित शुक्रबारे हटियामा तरकारी किनिरहेको अवस्थामा कार्कीको सुनको सिक्री लुटपाट गरिएको थियो । आरोपित साहले दुई जना नाबालकहरूलाई प्रयोग गरी सिक्री लुट्न लगाएका थिए । नाबालकहरू पक्राउ परेपछि उनीहरूले दिएको बयानका आधारमा चोरी गर्न लगाउने साह रहेको खुलेपछि प्रहरीले उनलाई साउन २० गते पक्राउ गरेको छ । पक्राउ परेका उनलाई मोरङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

सोही हटियामा साउन १२ गते पनि सोही प्रकृतिको घटना घटेकाले उक्त विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार तरकारी किनिरहेकै समयमा राजु राईको पनि सुनको सिक्री लुटपाट गरिएको थियो । उक्त घटनामा संलग्नको खोजी कार्य भइरहेको जनाइएको छ भने उस्तै प्रकृतिको घटना भएकाले आरोपित साहमाथि पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।