बिर्तामोड । चिकित्सकको लापरबाहीका कारण स्वास्थ्य अवस्था गम्भीर भएकी झापाको बिर्तामोड–१ की सिर्जना सङ्ग्रौलाको निधन भएको छ । सङ्ग्रौलाको उपचारका क्रममा बुधबार दिउँसो बिर्तासिटी अस्पतालमा निधन भएको हो ।

मनमोहन सामुदायिक अस्पताल बिर्तामोडमा उपचारका लागि भर्ना भएकी सङ्ग्रौलाको डाक्टर एकराज गौतमले अपरेसन गरेका थिए । सुत्केरी बेथा लागेर अस्पताल भर्ना भएकी सङ्ग्रौलाको अपरेसन डाक्टर गौतमले गरेका थिए ।

अपरेसनपछि अवस्था असामान्य बनेपछि अस्पतालमा तनाव उत्पन्न भएको थियो । पीडित परिवारले चिकित्सकको लापरबाहीका कारण सङ्ग्रौलाको अवस्था गम्भीर भएको भन्दै अस्पतालमा नाराबाजी गरेका थिए ।

अस्पतालमा तनाव भएपछि सयौं प्रहरी त्यहाँ तैनाथ गरिएको थियो । सङ्ग्रौलालाई थप उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो । अस्पतालको भेन्टिलेटरमा गम्भीर अवस्थामा उपचार भइरहेको समयमा बुधबार दिउँसो उनलाई चिकित्सकले मृत घोषित गरेको पीडितका आफन्तले जानकारी दिए ।

यसअघि मनमोहन अस्पताल र पीडित परिवारबीच भएको छलफलमा पीडित परिवारलाई अस्पतालले ३५ लाख रुपैयाँ दिने सहमति भएको थियो । पीडित परिवारलाई राहतस्वरूप २० लाख र नवजात शिशुको शिक्षा तथा स्वास्थ्य उपचारका लागि १५ लाख रुपैयाँ प्रदान गर्ने सहमतिपछि आन्दोलन साम्य भएको थियो ।