भद्रपुर । भारततर्फ लगिरहेको आशङ्कामा ठूलो परिमाणको मदिरा सशस्त्र प्रहरीले झापा गाउँपालिकाबाट बरामद गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट टाँघनडुब्बाबाट इन्स्पेक्टर दीपेन्द्रमणि राईको कमान्डमा खटिएको टोलीले झापा गाउँपालिका–२ स्थित कुवाडी–सडकबारी सडक–खण्डबाट एक गाडी मदिरा बरामद गरेको हो ।

बा.२१ च ५०६० नम्बरको पिकअपमा पछाडि लुकाई छिपाई लगिरहेको अन्दाजी २ लाख ९३ हजार मूल्य बराबरको गोरखा बियर, टुबोर्ग, ८८४८ रक्सीलगायत मादक पदार्थ बरामद गरेको सशस्त्र प्रहरी बल गण २ झापाका एसपी देवराज अर्यालले जानकारी दिए ।

सशस्त्रले मदिराको बिलविजक माग्दा चालकले देखाउन नसकेको उनले जनाए । चिसो पेयपदार्थ बाहिर राखेर भित्र मादक पदार्थ फेला परेको उनको भनाइ छ । सीमावर्ती क्षेत्रमा सञ्चालनमा आएका पसलहरूमा लगेको हुनसक्ने उनको बुझाइ छ ।

भिसिटिएस र भ्याट बिलसमेत नभएको अवस्थामा बरामद गरिएको मदिरा र गाडीसहित १७ लाख ९३ हजार मूल्याङ्कन गरी आन्तरिक राजश्व कार्यालय भद्रपुरमा बुझाइएको उनले बताए ।

यसअघि पनि सशस्त्रले साउन १८ गते झापा–१ लसुनाबाट प्र.१–०१–००१–७५०२ नम्बरको मारुती सुजुकीसहित मादक पदार्थ बरामद गरी आन्तरिक राजस्व कार्यालय भद्रपुरमा बुझाएको थियो ।

भारतको बिहार राज्यमा मदिरा पूर्णरूपमा प्रतिबन्ध छ । त्यसैले झापाका नाकाबाट मदिराजन्य पदार्थ चोरी तस्करीको माध्यमबाट बिहारतर्फ लैजाँदै आएको प्रष्ट हुन्छ ।