विराटनगरको व्यस्त बजारमा दिनदहाडै विराटनगर–८ का २२ वर्षीय महमद हलिमलाई तरबार प्रहार गरेको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका– ८ का २२ वर्षीय समीर हुसेन र विराटनगर– ६ का २४ वर्षीय अशोक अन्सारी रहेका छन् ।

प्रहरीले उनीहरुलाई भारतबाट पक्राउ गरेर ल्याएको हो । उनीहरुलाई प्रहरीले बुधबार बिहानका राति २ बजेतिर पक्राउ गरिएको मोरङ प्रहरीका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए । पक्राउ परेका मध्ये समिर घटनाका मुख्य अभियुक्त रहेको प्रहरीले जनाएको छ । 

सोमबार दिउँसो रातो पल्सर मोटरसाइकलमा तीन सवार व्यक्तिले महमद हलिमलाई तरबार प्रहार गरेका थिए । समिरले तरबारले हलिमलाई प्रहार गरेका थिए । तरबार प्रहारबाट हलिम गम्भीर घाइते भएका थिए । दुवै हातमा गहिरो चोट लागेका उनको विराटनगरकै नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा आठ जनाको संलग्नता देखिएको छ । फरार रहेका ६ जनाको खोजीका लागि मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले विशेष टोली परिचालन गरेका छन् । घटनामा संलग्नको खोजीमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले पनि टोली खटाएको छ ।

घटनामा प्रयोग गरिएको तरबार भने प्रहरीले यसअघि नै बरामद गरिसकेको छ । हलिममाथि आक्रमण गरेपछि तरबार झाडीमा फालेर घटनामा संलग्नहरु भागेका थिए । 

उनीहरू विराटनगरको रानी क्षेत्र हुँदै जोगवनी भएर भारततिर फरार भएका थिए । आक्रमणकारी भारततिर फरार भएपछि मोरङ प्रहरीले सहायक प्रहरी निरीक्षकको टोलीलाई भारत पठाएको थियो । उक्त टोलीले आक्रमण गर्ने मुख्य अभियुक्त समिरसहित दुई जनालाई पक्राउ गरेको हो । घटनामा संलग्न अन्य विराटनगरका २२ वर्षीया अमन कुरेसी, विराटनगर ११ जनपथ टोलका २६ वर्षीया  कुशल पाण्डे, विराटनगर सौरचियाका सदाब अन्सारीको समूह फरार छन् ।

पुरानै रिसईबीका कारण हलिममाथि तरबार हानिएको हुनसक्ने प्रहरीको भनाइ छ । 

‘केही दिन अगाडि हलिमको साथीमाथि समिरका केटाहरुले आक्रमण गरेका थिए । त्यसपछि हलिमले समिरका केटाहरुलाई कुटपिट गरेका थिए । त्यही कुटपिट गरेको रिस फर्न हलिमलाई आक्रमण गर्ने योजना समिरले बनाएका थिए,’ घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने, ‘त्यही रिस फेर्न तरबार प्रहार गरेर आक्रमण गरेको देखिन्छ । यस घटनामा संलग्न अन्य पक्राउ परेपछि थप विषय खुल्नेछ ।’

पक्राउ परेका दुवै जनालाई प्रहरीले बुधबार मोरङ अदालतमा ज्यान मार्ने उद्योगमा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।