विराटनगर । तीन जना युवाले  विराटनगरको व्यस्त बजारमा एक जना युवालाई दिनदहाडै तरबार प्रहार गरेका छन् । 

सोमबार दिउँसो विराटनगर महानगरपालिका– १० सन्सारीमाइस्थान नजिकै विराटनगर महानगरपालिका–८ का २२ वर्षीय मोहम्मद हलिममाथि तरबार प्रहार गरेका हुन् । तरबार प्रहारबाट हलिम  गम्भीर घाइते भएका छन् । सन्सारीमाईस्थानबाट पूर्वतर्फ उनीमाथि दिउँसो तरबारले प्रहार गरिएको प्रहरीले जनाएको छ । हलिमको दुवै हातमा गहिरो चोट लागेको छ ।

उपचारका लागि उनलाई सुरुमा न्यूरो अस्पताल भर्ना गरिएको थियो । न्यूरोले थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको छ । तरबार प्रहारको कारण घाइतेको दुवै हातको नशा काटिएकोले भ्याकुलर सर्जरी गरेर जोडिनुपर्ने भएकोले चिकित्सकले नोबेल पढाएको हो ।

हलिममाथि विराटनगर–८ का अन्दाजी ३० वर्षीय समीर हुसेन, २२ वर्षीया अमन कुरेसि,  विराटनगर ११ जनपथ टोलका २६ वर्षीया  कुशल पाण्डे , विराटनगरको सौरचियाका सदाब अन्सारिको समूहले तरबार प्रहार गरेको प्रहरीले जनाएको छ ।

‘एउटा मोटरसाइकलमा तीन जना चढेर आएका थिए । तीन जना मध्ये मोटरसाइकलको बिचमा बसेका समीर हुसेनले तरबार बोकेका थिए । त्यही तरबारले मोहम्मद हलिममाथि लर्डबुद्ध कलेज अगाडी चिया पसलमा प्रहार भयो,’ घटनको प्रत्यक्षदर्शीले भने, ‘तरबार प्रहार गरेर उनीहरू फरार भए ।’

मुस्लिम समुदायको मोहरम पर्वको भएको विवादमा लिएर मोहम्मद हलिममाथि तरबार प्रहार भएको बुझिएको छ । तरबार प्रहार गर्नेहरू फरार भएको र उनीहरूको खोजी कार्य भइरहेको मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक पप्पु नायकले बताए ।

‘घटनामा संलग्नको खोजी कार्य तीव्र बनाएको छ,’ उनले भने ।