धरान । श्रीमती हत्या आरोपमा तेह्रथुम आठराई गाउँपालिका–१ डाँडागाउँका राजकुमार श्रेष्ठ झापाको काँकरभिट्टाबाट पक्राउ परेका छन् ।

उनलाई झापा प्रहरीले काँकरभिट्टाको एक होटलमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनले आफ्नै २४ वर्षीया श्रीमती रेशिका श्रेष्ठ ‘दमन्ता’ लाई हत्या गरेको आरोप लागेको छ । उनले इलाका प्रहरी कार्यालय आठराईमा साउन १४ गते श्रीमती हराएकाले खोजी गरिपाऊँ भन्दै भोलिपल्ट अर्थात् साउन १५ गते निवेदन दिएका थिए ।

निवेदन दिएको केही समयपश्चात् झापामा आफन्तको भेटिएकाले खोजी नगर्न भन्दै प्रहरीलाई सूचित गरेका थिए । यता प्रहरीले भने श्रीमतीसहित आई कानूनी प्रक्रिया पूरा गर्नका लागि जानकारी गराएको थियो । एकाएक साउन २४ गते मोबाइलसमेत सम्पर्कबाहिर राखेर बेपत्ता भएका थिए ।

त्यसपश्चात् भने प्रहरीले खोजी सुरु गरेको थियो । श्रेष्ठ दम्पतीले आठराईकै श्रीकृष्ण मावि डाँडागाउँमा क्यान्टिन चलाउँदै आएका थिए । पसलबाटै हराएको भनी निवेदन दिएपश्चात् महिलाको खोजी सुरु भएको थियो । तर, प्रहरीले शनिबारै दमन्तीको शव सुँगुरको खोरनजिकै गाडेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजन चापागाईंले जानकारी दिए ।

उनले आरोपित श्रेष्ठलाई अनुसन्धानका लागि आइतबार जिल्लामा ल्याइएको जानकारी दिए । उनलाई झापामा शनिबार दिउँसो पक्राउ गरिएको थियो । उनीहरूको एक छोरी छन् । उनी आफूले प्रयोग गर्ने मोटरसाइकलसहित सम्पर्कविहीन भएपछि भने स्थानीय तथा माइती पक्षले खोजी गर्नुपर्ने भन्दै प्रहरीलाई सूचित गरेको थियो ।