तेह्रथुम आठराई गाउँपालिका–१ डाँडा गाउँमा  शव फेला परेकी दमन्ताका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

शनिबार माइती, स्थानीय तथा प्रहरीले आफैले सञ्चालन गर्ने खाजा घरको पछाडि रहेको सुँगुरको खोरमा  गाडेको अवस्थामा शव फेला परेको  २६ वर्षीया श्रीमती रेशिका श्रेष्ठ (दमन्ता) का श्रीमान् राजकुमार श्रेष्ठलाई काँकडभिट्टाबाट प्रहरीले नियन्त्रणमा लिएको छ । 

काँकडभिट्टामा होटलमा लुकीछिपी बसेको अवस्थामा  राजकुमारलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राजन चापागाईँले बताएका छन् ।

स्थानीय श्रीकृष्ण माविमा श्रीमानसँगै  किराना तथा क्यान्टिन  सञ्चालन गर्दै आएकी दमन्ता  पसलबाटै हराएकी भन्दै  राजकुमारले  इलाका प्रहरी कार्यालय सङ्क्रान्ति बजारमा खोजतलासका लागि निवेदन दिएका थिए ।

तर प्रहरीले खोजतलास जारी राखिरहँदा साउन २४ गते बिहानैदेखि श्रीमान् राजकुमार पनि सम्पर्कविहीन भएका थिए । घटनास्थल र शवको प्रकृति हेर्दा श्रीमानमाथि शङ्का उब्जिएको भन्दै प्रहरीले राजकुमारमाथि अनुसन्धान सुरु गरेको थियाे ।

श्रीमतीको शव फेला परेसँगै प्रहरीले सम्पर्क विहीन श्रीमानको खोजी कार्य तीव्र बनाएको थियो ।