तेह्रथुमको  आठराई गाउँपालिका १ डाँडागाउँमा एक महिलाको शव सुगुरको खोरमा  गाडेको अवस्थामा फेला परेको छ । गत साउन १४ गतेदेखि हराइरहेकी स्थानीय २६ वर्षीया रेशिका श्रेष्ठ (दमन्ता) को शव उनकै पसल पछाडिको सुँगुरको खोरमा गाडेको अवस्थामा  शनिबार प्रहरीले फेला परेको हो ।

स्थानीय श्रीकृष्ण माविमा श्रीमान्  किराना तथा क्यान्टिन  सञ्चालन गर्दै आएकी दमन्ता  पसलबाटै हराएकी भन्दै श्रीमान राजकुमार श्रेष्ठले  इलाका प्रहरी कार्यालय सङ्क्रान्ति बजारमा खोजतलासका लागि निवेदन दिएका थिए ।

तर प्रहरीले खोजतलास जारी राखिरहँदा साउन २४ गते बिहानैदेखि श्रीमान् राजकुमार पनि सम्पर्कविहीन भएका थिए । प्रहरी, स्थानीय र माइती पक्षले शनिबार खोजी कार्य तीव्र बनाउँदा उनको शव खोरभित्र गाडेको अवस्थामा फोला परेको हो ।

श्रेष्ठको शव उनकै पसल पछाडि रहेको सुँगुरको खोरमा प्लाष्टिकमा बेरेर गाडेको अवस्थामा फेला परेको  प्रहरीले जनाएका छन् । 

घटनास्थल र शवको प्रकृति हेर्दा श्रीमानमाथि शङ्का उब्जिएको भन्दै प्रहरीले राजकुमारमाथि अनुसन्धान सुरु गरेको छ । श्रेष्ठ दम्पतीबिच समय समयमा झगडा भइरहने गरेको स्थानीयहरूले बताएका छन् । 

उनीहरूले सञ्चालन गर्ने गरेको उक्त क्यान्टिन  राजकुमारले केही दिनअघि मात्रै बिक्री गरेका स्थानीयले बताएका छन्  । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।