भद्रपुर  । झापा धुलाबारीको सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी) का प्रिन्सिपल मनोज गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्न झापा जिल्ला अदालतले आदेश दिएको छ ।

मेचीनगर–१० धुलाबारी स्थित सानो साथी किन्डर गार्टेनको सेप्टिक ट्याङ्कीमा डुबेर आठ वर्षीय बालक तान्छोपहाङ लिम्बुको मृत्यु भएको घटनामा स्कुलका प्रिन्सिपल गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आइतबार आदेश दिएको हो ।

 मुद्दाको थुनछेक बहसपछि अदालतले प्रिन्सिपल गुरुङलाई थुनामा राख्ने आदेश दिएको हो भने अरु दुई जना आरोपितलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

 घटनाका आरोपितको रुपमा स्कुलकी व्यवस्थापक मेचीनगर–१० की २४ वर्षीया अनिशा पोखरेल र सुसारे कर्मचारी मेचीनगर–११ की ३५ वर्षीया रमा सुनार रहेका थिए । अदालतले पोखरेललाई २ लाख र सुनारलाई ५० हजार धरौटीमा रिहा गरेको हो ।

आरोपितमध्ये स्कुलकै सञ्चालक काठमाडौं–३१ निवासी ४२ वर्षीय सुरेन रसाइली भने फरार छन् ।

थुनछेकको बहसमा वादीका तर्फबाट अधिवक्ता सुरज खत्री, शान्ता पाठक र सरकारी वकिलले वहस गरेका थिए । त्यस्तै प्रतिवादीका तर्फबाट अधिवक्ता अशोककुमार पोखरेलले वहस गरेका थिए ।

गत असार २५ गते सेप्टिक ट्याङ्कीमा डुबेर तान्छोपको मृत्यु भएको थियो । उनका बुवा खर्कबहादुर सुब्बाले तान्छोपको मृत्यु शङ्कास्पद रहेको जाहेरी दिएपछि प्रहरीले स्कुलका सञ्चालक समेत रहेका मेचीनगर–११ निवासी ४५ वर्षीय मनोज गुरुङसहित तीन जनालाई पक्राउ गरेर झापा जिल्ला अदालतमा मुद्दा चलाएको थियो ।