विराटनगर । सुनसरीको धरानस्थित सेउतीखोला नजिकैको जङ्गलमा  विराटनगर – ५ का २८ वर्षीय रोहित चौधरीको हत्या प्रकरणमा प्रहरीले थप एक  जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने धरान ४ का २७ वर्षीय युनेश राई  रहेका संघीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालले जानकारी दिए । राईलाई आज धरानबाट पक्राउ गरेको हो ।  राईले गिरोहका सदस्यले प्रयोग गर्ने पेस्तोलको गोली राखिदिने गरेका प्रहरीले जनाएको छ । प्रहरीले राईको साथबाट ८ थान गोली पनि बरामद गरेको छ । 

रोहितको हत्या प्रकरणमा पक्राउ पर्ने प्रतिवादीको सङ्ख्या ६ जना पुगेको छ । शुक्रबार रोहितको हत्या गर्न पेस्तोल उपलब्ध गराउने अवैध हतियार कारोबारी र खुकुरी देखाएर लुटपाट गर्ने थप तीन जना पक्राउ परेका थिए । यसअघि गिरोहका मुख्य नाइकेसहित दुई जना पक्राउ परिसकेका छन् ।

प्रहरीले विराटनगर १५ का ४१ वर्षीय अजय कुमार शर्मा, भद्रपुर नगरपालिका १ घर भई धरान उपमहानगरपालिका ८ मा बस्दै आएका प्रकाश लिम्बु र धरानका ३१ वर्षीय सुजन तामाङलाई शुक्रवार पक्राउ परेका थिए ।  अजयले पेस्तोल ४० हजारमा लुटपाट गर्ने समूहलाई बिक्री गरेको खुलेको छ । प्रकाश र सुजनले रोहितसँग गएका किशोरीलाई  खुकुरी देखाएर लुटपाट गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले रोहितको हत्या भएको १२ दिनेपछि गिरोहका मुख्य नाइके दिपकसहित तीन जनालाई पक्राउ गरी बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । यसअघि प्रहरीले लेटाङ नगरपालिका १ घर भएका ३५ वर्षीय दीपक तिम्सिना र धरान १४ का ३४ वर्षीय अनसन तामाङलाई पक्राउ गरेको थियो । 

साउन ५ गते बेलुका ५ः१५ बजेतिर इटहरी उपमहानगरपालिका २० सेउती पुल नजिकको जङ्गलमा रोहित चौधरी र उनीसँगै रहेकी युवतीलाई लुटपाट गरेका थिए । लुटपाट गर्ने क्रममा रोहितले प्रतिकार गरेपछि लुटेरा समूहले उनलाई गोली हानेका थिए । घाइते भएका रोहितको सोही दिन बिपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

यो घटना अनुसन्धान तथा प्रतिवादी पक्राउका लागि कोशी प्रदेश प्रहरी कार्यालय, संघीय प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरीबाट संयुक्त टोली परिचालन गरिएको छ ।