विराटनगर । विराटनगर–५ का २८ वर्षीय रोहित चौधरीको हत्या प्रकरणमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ । रोहितको हत्या गर्न पेस्तोल र गोली उपलब्ध गराउने हतियार कारोबारीसहित तीन जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा विराटनगर–१५ का ४१ वर्षीय अजयकुमार शर्मा, भद्रपुर नगरपालिका–१ घर भई धरान उपमहानगरपालिका–८ मा बस्दै आएका प्रकाश लिम्बू र धरानका ३१ वर्षीय सुजन तामाङलाई शुक्रबार पक्राउ गरेको सङ्घीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालले जानकारी दिए ।

पक्राउ परेकामध्ये अजय अवैध हतियार कारोबारी रहेको खुलेको छ । अजयले चारकोसे झाडीमा शृङ्खलाबद्ध लुटपाट  गर्ने र रोहितको हत्या गर्ने गिरोहका मुख्य नाइके लेटाङ नगरपालिका–१ का ३५ वर्षीय दीपक तिम्सिनालाई अवैध हतियार बिक्री वितरण गरेको पाइएको सङ्घीय प्रहरी कार्यालय धरानका एसपी दाहालले जानकारी दिए ।

‘अजयले भारतबाट अवैध रूपमा हातहतियार ल्याउने गरेको पाइएको छ । अवैध तरिकाले ल्याएको हतियार भण्डारण गर्ने र आपराधिक क्रियाकलापमा लागेका युवालई बिक्री गर्ने गरेको पाइएको छ’ एसपी दाहालले भने, ‘अजयले दीपकलाई ४५ हजारमा पेस्तोल बिक्री गरेको पाइएको छ ।’ पक्राउ परेका सुजन र प्रकाशले रोहितसँग गएका किशोरीलाई घाँटीमा खुकुरी देखाएर लुटपाटमा संलग्न भएको प्रहरीले जनाएको छ । 

दीपकसहितको तीन जनाको समूहले गत असार ८ गते साँझ साढे ६ बजेतिर सुनसरीको धरान उपमहानगरपालिका–१७ खैरेनी जङ्गलमा लुटपाट गरेको थियो । एक जना महिलालाई नडाहाबाट धरानतर्फ जाँदै गर्दा ३ जना अज्ञात व्यक्तिहरूले लाठी र खुकुरी देखाई उनले लगाएका १ तोलाको सुनको सिक्री, आधा तोलाको सुनको मङ्गलसूत्र, आधा तोलाको सुनको टप, ओप्पो मोबाइल, उनले बोकेको ब्याग र ६ हजार ५ सय रुपैयाँ लुटापट भएको थियो ।

लुटपाट गरेर तीन जना फरार भएका थिए । ‘खैरेनी जङ्गलमा लुटेको सुन बेचेर उनीहरूले हतियार किनेको खुलेको छ’ एसपी दाहालले भने, ‘हतियार किनेपछि पनि उनीहरूले सो जङ्गलमा पटक–पटक लुटपाट गरेका छन् ।’

यही साउन ५ गते बेलुका ५ः१५ बजेतिर धरानको सेउती पुलनजिकको जङ्गलमा रोहित चौधरी र उनीसँगै रहेकी युवतीलाई लुटपाट गरेका थिए । लुटपाट गर्ने क्रममा रोहितले प्रतिकार गरेपछि लुटेरा समूहले उनलाई गोली हानेको थियो ।

घाइते भएका रोहितको सोही दिन बीपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो । प्रहरीले रोहितको हत्या भएको १२ दिनपछि गिरोहका मुख्य नाइके दीपकसहित तीन जनालाई पक्राउ गरी बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।

यसअघि प्रहरीले लेटाङ नगरपालिका–१ का ३५ वर्षीया दीपक तिम्सिना र धरान–१४ का ३४ वर्षीय अनसन तामाङलाई पक्राउ गरेको थियो । उनीहरू पक्राउ परेको दुई दिनपछि थप दुई जना पक्राउ परेका हुन् । यस घटनामा पक्राउ पर्नेको सङ्ख्या पाँच पुगेको छ । 

पक्राउ परेका पाँचैजना आपराधिक क्रियाकलापमा संलग्न भएका अभियुक्त हुन् । पक्राउ परेका तिमिल्सिना, तामाङ, शर्मा र लिम्बू यसअघि पनि आपराधिक गतिविधिमा संलग्न रही जेल बसेर छुटेको खुलेको छ ।

तिमिल्सिना जबरजस्ती करणीको मुद्दामा १० वर्ष कैद भुक्तान गरी दुई महिनाअगाडि मात्रै छुटेका थिए । उनी लागूऔषध दुव्र्यसनीसमेत रहेको र यसअघि पनि विभिन्न घटनामा संलग्न रहेको खुलेको छ ।

४५ हजारमा हतियार उपलब्ध गराउने शर्मा लागूऔषध मुद्दामा ४ वर्ष ८ महिना कैद भुक्तान गरी चार महिनाअगाडि निस्किएका अभियुक्त हुन् । कैद भुक्तान गरेर बाहिर आएपछि उनीहरू पुनः आपराधिक गतिविधिमा संलग्न भएको देखिएको छ ।