विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका–२० सेउती पुलनिजक जङ्गलमा लुटेरा समूहसँग कराउँदै प्रतिकार गर्दा गोली हानी विराटनगर–५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको खुलेको छ । बाइक रोकेर जङ्गल छिरेको १० मिनेट बित्न नपाउँदै रोहितमाथि तीन जनाको लुटेरा समूहले गोली प्रहार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

साउन ५ गते चौधरीको सुनसरीको धरान–इटहरी सडक–खण्ड सेउती पुलनजिकको जङ्गलमा गोली प्रहार गरी हत्या भएको थियो । हत्यामा संलग्न तीनमध्ये २ जनालाई पक्राउ गरी बुधबार प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा लेटाङ नगरपालिका–१ घर भएका ३५ वर्षीय दीपक तिम्सिना र धरान–१४ का ३४ वर्षीय अनसन तामाङ छन् भने एक जना फरार छन् । फरार अभियुक्तको खोजी कार्य प्रहरीले तीव्र बनाएको छ । उनीहरू आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीको दाबी छ ।

रोहितको हत्या उनीहरूले लुटपाट गर्ने उद्देश्यले गरेको अनुसन्धानबाट खुलेको कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी राजेशनाथ बास्तोलाले बताए । उनीहरूलाई धरान उपमहानगरपालिका–१० पुतलीलाइनमा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

साउन ५ गते बेलुका ५ः१५ बजेतिर इटहरी उपमहानगरपालिका–२० सेउती पुलनजिकको जङ्गलमा चौधरी र उनीसँगै रहेकी युवतीलाई लुटेराले निशाना बनाए । ‘उनीहरू रोहितको जन्मदिन मनाउन घुमफिर गरेर विराटनगर फर्किने क्रममा थिए । मोटरसाइकल रोकेर रोहित र युवती पुलनजिकै बसिरहेका थिए । पैदल आएका तीनजनाले सुरुमा युवतीलाई पक्रिए । त्यसपछि अर्का युवाले रोहितलाई पक्रिएर पेटमा पेस्तोल ताके । नजिकै युवतीको घाँटीमा खुकुरी ताकेर लुटपाट गर्न थाले । उनका गहना निकाल्न थाले । त्यसपछि रोहितले हो–हल्ला गर्दै प्रतिकार गर्न खोज्दा गोली प्रहार गरेका थिए । गोली प्रहारपछि रोहित त्यहीँ ढले । गोली प्रहार गर्ने घटनाको मुख्य अभियुक्त तिमिल्सिना रहेको अनुसन्धानबाट खुलेको छ’ डिआइजी बास्तोलाले भने, ‘लुटेरा समूह जङ्गलमा ११ बजेदेखि बसेको खुलेको छ । अनुकूल पर्नासाथ जोकोहीलाई पनि लुटपाट गर्ने उद्देश्यले त्यहाँ उनीहरू बसेका थिए ।’

युवतीको गहना लुटपाट गरेर उनीहरू पानमारातर्फको जङ्गलतिर भागेको प्रहरीले बताएको छ । युवतीले दिएको हुलियाका आधारमा प्रहरीले उनीहरूको खोजी गरिरहेको थियो । रोहितको हत्या भएको १२ दिनपछि उनीहरूलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । यो घटनामा कोशी प्रदेश प्रहरी कार्यालय, सुनसरी प्रहरी र सङ्घीय प्रहरी कार्यालय धरानले संयुक्त रुपमा अनुसन्धान सुरु गरेको छ ।

हप्ता दिनको फरकमा लुटपाटको शृङ्खला
सुनसरीको धरानको जङ्गलमा शृङ्खलाबद्ध लुटपाटको घटनामा दीपकको समूह रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । असार महिनामात्र एक हप्ताको फरकमा तीनवटा लुटपाट गरेको देखिएको छ । 

२०८० असार ८ गते साँझ साढे ६ बजेतिर सुनसरीको धरान उपमहानगरपालिका १७ खैरेनी जङ्गलमा लुटपाट भएको थियो । एक जना महिलालाई नडाहबाट धरानतर्फ जाँदै गर्दा ३ जना अज्ञात व्यक्तिहरुले लाठी र खुकुरी देखाई उनले लगाएका १ तोलाको सुनको सिक्री, आधा तोलाको सुनको मङ्गलसूत्र, आधा तोला सुनको टप, ओप्पो मोबाइल, उनले बोकेको ब्याग र ६ हजार ५ सय रुपैयाँ लुटापट भएको थियो । लुटपाट गरेर तीनजना फरार भएका थिए ।

गत असार २३ गते बिहान साढे ९ बजे धरान उपमहानगरपालिका–१७ को जङ्गलबाट एक दम्पती लुटपाटमा परेका थिए । धरानबाट प्रकाशपुर जाँदै गर्दा मोटरसाइकलमा रहेका श्रीमान् श्रीमतीलाई उक्त जङ्गलबाट निस्किएका ५ जनाले खुकुरी देखाएर मोटरसाइल रोके । त्यसपछि उनीहरूको साथबाट नगद तथा गरगहना लुटपाट गरे । २ तोलाको सिक्री, ५ आनाको टिलसहितको सिक्री, आधा तोला सुनको नवरत्न औंठी, १ तोलाको बेरुवा औंठी, ५ आनाको कानमा लगाउने पिन्जडा, ४० हजार रुपैयाँ पर्ने घडी, महिलाको पर्स, ल्यापटप ब्याग, रेनकोट, २ थान मोबाइल र १५ हजार रुपैयाँ लुटपाट भएको थियो ।

गत असार ३१ गते दिउँसो साढे ४ बजेतिर धरान कालाबन्जार सडकमा पनि लुटपाट गरेका थिए । धरान उपमहानगरपालिका–१७ स्थित धरान–कालाबन्जार सडक–खण्डमा धरानबाट कालाबन्जारतर्फ जाँदै गरेका एक जना पुरुष लुटपाटमा परेका थिए ।

मोटरसाइकलमा रहेका ती पुरुषलाई खुकुरी र पेस्तोल देखाएर मोटरसाइकल रोक्न लगाएका थिए । त्यसपछि उनको साथमा रहेको ५२ हजार रुपैयाँ र ५ हजारको प्रसूतिसम्बन्धी औषधिसमेत लुटेर फरार भएका थिए । यस्तै तीन थान चेकबुक, बच्चाका तीन जोर लुगा, इस्टकोट, ज्याकेट र जग्गाको नक्सालगायत अन्य कागजातहरूसमेत लुटपाट गरेर भागेका थिए । यसरी एक महिनामा शृङ्खलाबद्ध अपराधमा संलग्न समूह प्रहरी फन्दामा परेको डिआइजी बास्तोलाले बताए ।

४० हजारमा किनेको पेस्तोलले रोहितकोे हत्या
पक्राउ परेका तिमिल्सिना र तामाङ यसअघि पनि आपराधिक गतिविधिमा संलग्न रही जेल बसेर छुटेको खुलेको छ । तिमिल्सिना जबरजस्ती करणीको मुद्दामा १० वर्ष कैद भुक्तान गरी दुई महिनाअगाडि मात्रै छुटेका थिए । उनी लागूऔषध दुव्र्यसनीसमेत रहेको र यसअघि पनि विभिन्न घटनामा संलग्न रहेको खुलेको छ ।

उनीहरूले लुटपाटकै रकमले ४० हजारमा भारतको जोगवनीमा गएर पेस्तोल किनेको खुलेको छ । लुटपाट गरेका सामान भारतमा लगेर बेच्ने र भारतबाटै एक महिनाअगाडि पेस्तोल किनेको अनुसन्धानमा संलग्न सङ्घीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालले बताए । ‘रोहितको हत्या गर्ने समूहले यही जङ्गलमा शृङ्खलाबद्ध तरिकाले लुटपाट गरेको देखिएको छ’ उनले भने, ‘लुटपाट गरेको रकमबाट पेस्तोल किनेका थिए ।’ 

उनीहरूले हत्या तथा लुटपाटमा प्रयोग गरेका सामानसमेत प्रहरीले बरामद गरेको छ । एउटा अटोमेटिक चाइनिज पेस्तोल, त्यसको गोली ९ राउण्ड, ५ वटा कालो झोला, महिलाले बोक्ने ब्याग ४ वटा, दुईवटा खुकुरी बरामद गरेको छ । यस्तै ५ वटा मोबाइल र एउटा औंठी पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।