विराटनगर । विराटनगर – ५ का २८ वर्षीय रोहित चौधरीको हत्या आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ परेका मोरङको लेटाङ नगरपालिका १ का ३५ वर्षीय पर्वत भन्ने दिपक तिमिल्सिना र धरान उपमहानगरपालिका १४ का  ३४ वर्षीय अनसन तामाङलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।


 उनीहरूलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा बुधबार  पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । 

पक्राउ परेका मध्ये दिपक घटनाको मुख्य अभियुक्त हुन् । उनैले रोहितलाई सुनसरी धरान–इटहरी सडक खण्डको सेउती पुल नजिकैको जङ्गलमा साउन ५ गते गोली प्रहार गरेका थिए ।

 होहल्ला गर्दै प्रतिकार गरेपछि रोहितलाई लुटेरा समूह मध्येका मुख्य नाइके दिपकले गोली प्रहार गरेको अनुसन्धानबाट खुलेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए । 

‘खुकुरी गर्धनमा र पेस्तोल छातीमा देखाएर रोहितसँग गएकी किशोरीको तीन आनाको सुनको सिक्री, मोबाइल र लेडिज झोला लुटे । त्यसपछि रोहितले होहल्ला गर्दै प्रतिकार गर्न खोजेपछि गोली चलाएको देखिएको छ,’ घटनाको अनुसन्धान गरेको सङ्घीय प्रहरी कार्यालय धरानका एसपी भिम दाहालले भने, ‘रोहित र किशोरी सेउती पुलको जङ्गल छिरेको १० मिनेट भित्रमा लुटपाट गरी गोली हानेर लुटेरा समूह पानमारा जाने जङ्गल भागेको देखिएको छ ।’ रोहितको हत्या गर्नुको मुख्य कारण लुटपाट रहेको अनुसन्धानबाट खुलेको उनले बताए । ‘हामीले सबै कोणबाट सूक्ष्म तरिकाले अनुसन्धान गरेका थियौ,’ उनले भने, ‘हत्या गरिनुको कारण लुटपाट नै रहेको देखियो ।’

लुटपाट गरी हत्या गर्ने समूहमा तीन जना रहेको खुलेको छ । अहिले दुई जना पक्राउ परेका छन् । एक जना फरार रहेको डिआइजी बास्तोलाले बताए ।

पक्राउ परेका समूह यसअघि विभिन्न अपराधमा कैद भुक्तान गरी छुटेका अभियुक्त रहेका छन् । पक्राउ परेका दिपक जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद भुक्तान गरी दुई महिना अगाडी छुटेका अभियुक्त हुने भने तामाङ्ग लागू औषध मुद्दामा ६ महिना कैद भुक्तान गरी २ वर्ष अगाडी छुटेका अभियुक्त हुन् ।

उनीहरूले यसअघि पनि विभिन्न चार वटा लुटपाटको घटनामा संलग्न भएको अनुसन्धानबाट खुलेको डिआइजी बास्तोलाले बताए ।