वराहक्षेत्र । उदयपुरको बेलका नगरपालिका–७ स्थित दूधकोसी सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीको मिलेमतोमा भएको काठ तस्करीे घटनाका आरोपी सोही वनका अध्यक्ष मणिराज राई पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

घटनामा फरार रहँदै आएका राईले असार २८ गते आत्मसमर्पण गरेपछि उनलाई जिल्ला अदालत गाईघाटले कारागार चलान गरेको हो । अदालतले आरोपी अध्यक्षलाई १४ लाख २१ हजार ९ सय रुपैयाँको बिगो जरिबाना गराएको छ । वनको प्रमुख पदमा रहेको र १० लाख रुपैयाँभन्दा बढीको बिगो क्षतिपूर्तिमा धरौटी खुलाउने नगरिएको उदयपुर जिल्ला अदालत गाईघाटका सूचना अधिकारी बुद्धराज निरौलाले जानकारी दिएका छन् ।

यसअगाडि असार १२ गते जिल्ला वन कार्यालयमा आफै उपस्थित भएका सचिव दिनेश राईलाई भने ३ लाख रुपैयाँ धरौटीमा छोडिएको छ । घटनाको सम्बन्धमा जिल्ला वनले गरेको घटनाको अनुसन्धानमा मुछिएपछि वनका उपाध्यक्ष, दुई कोषाध्यक्ष र अर्का एक फरार भएका छन् । असार १ गरेको छानबिन मुचुल्कामा पोलिएपछि पदाधिकारी उपाध्यक्ष सुवास राई, पूर्व कोषाध्यक्ष ज्योति राई, वर्तमान कोषाध्यक्ष दुर्गा राई र काठ ओसार–पसारमा संलग्न सुजन राई फरार रहेको जिल्ला वन प्रमुख तथा घटना अनुसन्धान अधिकृत राजकुमार श्रेष्ठले बताए ।

३ महिनाअगाडि वैशाखमा भएको रुख कटान घटनामा २ हजार ५ सय ७५ क्युविक फिट चिरान काठ र २ हजार ३६ क्युविक फिट बराबरको रुखको ठुटा बरामद गरिएको सूचना अधिकारी निरौलाले बताए ।