व्यक्तिको स्वामित्वमा रहेको जग्गामा अनाधिकृत रूपमा नपस्न धरानका नगर प्रमुख हर्क साम्पाङलाई अदालतले आदेश दिएको छ ।
धरान ४ को छोटी मोरङमा रहेको पूर्व वडाध्यक्ष रोशन अधिकारीकी श्रीमती नाममा रहेको जग्गामा गत शनिवार मेयर साम्पाङले वृक्षारोपण गरेका थिए ।
मेयर साम्पाङले रोजिना अधिकारीको नाममा रहेको निजी स्वामित्वको जग्गामा वृक्षारोपण गरेपछि रोजिनाले दायर गरेको रिटको सुनुवाइ गर्दै विराटनगर उच्च अदालतले मेयर साम्पाङलाई अनाधिकृत रूपमा प्रवेश गर्ने, वृक्षारोपण गर्ने, गराउने कार्य नगर्न भन्दै आदेश दिएको छ ।
बाँझगरा ९ (ग) काे कित्ता नम्बर ४२१ र ३४५ को जग्गाको दर्ता स्वामित्व रेजीनाकाे नाममा रहेकाेले मुलुकी देवानी संहिता, २०७४ को दफा २५ ले आफ्नो हक दर्ता रहेको जग्गाको भोग स्वामित्वमा, अहरणीय हककाे अधिकार रहेकाे अलालतले जनाएकाे छ ।
अदालतले कानूनीले हक अधिकार प्रत्याभूत गरेकोले अनाधिकृत प्रवेश गर्ने, विरुवा रोप्ने जस्ता कार्य गरिदा निवेदकको सम्पत्ति सम्बन्धी हक अधिकारमा प्रत्यक्ष आघात पुग्ने भन्दै निवेदनको अन्तिम टुङ्गो नलागेसम्म उक्त जग्गामा अनाधिकृतरूपमा प्रवेश नगर्न भनेकाे छ ।
































