भद्रपुर । सशस्त्र प्रहरीले दुईवटा ट्याक्टरसहित ४० लाख मूल्य बराबरको सखुवा जातको अवैध गोलिया काठ बरामद गरेको छ ।

झापाको मेचीनगर–१ स्थित कृष्णथुम्की वनबाट शुक्रबार राति १२ बजेर १० मिनेटमा विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल २ नम्बर गण झापाका गणपति देवराज अर्यालको नेतृत्वमा गएको टोलीले जङ्गलबाट काठ बरामद गरेको सशस्त्र प्रहरी बल वराह बाहिनी मुख्यालय  कोशी प्रदेश सुनसरीले जनाएको छ ।

काठ तस्करले प्रहरीलाई देखेपछि छाडेर भागेको र पछ्याउँदै जाँदा ट्याक्टर फेला पारिएको डीआइजी अञ्जनीकुमार पोखरेलले जानकारी दिए । खोजतलासका क्रममा ५ सय क्यु.फिट सखुवा, अन्य जातका २ सय क्यु.फिट गरी करिब एक ट्रक साल र अन्य जातका लाथ्रा फेला पारिएको डिआइजी पोखरेलले बताए ।

नियन्त्रणमा लिएको मे.१ त ७२०० र मे.१ त ५३४५ नम्बरका ट्याक्टर र काठसहित अनुमानित ४० लाख मूल्य कायम गरी आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय झापामा बुझाइएको उनले जानकारी दिए । झापाका सामुदायिक वनबाट काठ तस्करले काठमिलमा र भारततर्फ काठ लैजाँदै आइरहेका छन् ।