सुनसरी । सुनसरीको कोसी गाउँपालिका वडा नं. १ स्थित ब्लकको जग्गा वितरणमा रकमको ‘बार्गेनिङ’ भएको खुलेको छ । वडानम्बर १ को ब्लकको जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासीहरूलाई निःशुल्क जग्गाको लालपुर्जा वितरण गरिएको बताइए पनि त्यसमा रकम बार्गेनिङ भएको खुलेको हो । पहिलो चरणमा कोसी गाउँपालिका वडानम्बर १ साविक लौकही गाविस वडानम्बर ६ को कित्ता नम्बर ३ को गाउँ ब्लक अन्तर्गत रहेका २८ घरपरिवारलाई जग्गाधनी दर्ता प्रमाण–पत्र वितरण गरिएको थियो भने दोस्रो चरणमा गत असार २ गते कोसी गाउँपालिका वडानम्बर १ साविक लौकही गाविस वडानम्बर ६ को कित्ता नं. ५ र वडा नं. ८ को कित्ता नं. ५५ को गाउँ ब्लक अन्तर्गत ९१ जनालाई लालपुर्जा वितरण गरेको नापी कार्यालय इनरुवा सुनसरीले जनाएको छ ।

सुकुम्बासीहरूलाई जग्गाको लालपुर्जा दिलाइदिन भन्दै बिचौलियाहरूले काम मिलाउने नाममा सुकुम्बासीहरूसँग १० हजारदेखि ४० हजार रुपैयाँको दरले रकम असुली गरेको सामाजिक अभियन्ता रामचन्द्र यादवको दाबी छ । उनले आफ्नो फेसबुकमार्फत् लौकहीको ब्लक जग्गामा बस्दै आएका सुकुम्बासी जनताहरूलाई गुमराहमा पारी प्रत्येक सुकुम्बासीसँग लाखौं बराबरको रकम असुली गरेको भन्दै छानबिन गरी सत्य–तथ्य बाहिर ल्याएर दोषीलाई कारबाहीको दायरामा ल्याउन सुनसरी प्रशासन, जिल्ला नापी कार्यालय र सम्बन्धित निकायसँग आग्रह गरेका छन् । ती सुकुम्बासीहरूलाई कोसी गाउँपालिकाको सहकार्य र जिल्ला नापी कार्यालय सुनसरीको आयोजनामा ब्लक जग्गाको नापी गरेर लालपुर्जा वितरण गरिएको थियो । उनीहरूसँग लौकहीकै केही व्यक्तिले जग्गा दिलाइदिने भन्दै रकम उठाएको पीडितहरूले आरोप लगाएका छन् ।

पीडित अनवा मण्डल पचास वर्षदेखि आफू बसोबास गर्दै आएको सो जग्गाको लालपुर्जा दिलाइदिने भन्दै स्थानीय अञ्जन मण्डल र निरञ्जन मण्डलले दश हजार रुपैयाँ लगेको बताइन् । अर्का पीडित पाण्डव मण्डलले स्थानीय अङ्गदलाई दशहजार रुपैयाँ दिएको जानकारी दिए । अन्य स्थानीयहरू विपिन मण्डल, जयनारायण साह, नन्द मण्डल, सेपकीदेवी मरिकले पनि जग्गाको लालपुर्जा बनाइदिन्छु भन्दै आफूहरूसँग पैसा लिएको जानकारी दिए । कोसी गाउँपालिका–१ लौकहीका निरञ्जन मण्डल, बौवा मण्डल, अङ्गदलगायतको समूहले सुकुम्बासीहरूलाई जग्गा दिलाइदिन्छौँ भन्दै रकम लिएको पीडितहरूको आरोप छ । कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले ब्लक जग्गामा बसोबास गर्दै आएका सुकुम्बासीहरूलाई लालपुर्जा निःशुल्क प्रदान गरिए पनि त्यसमा रकमको बार्गेनिङ भएको बारे आफूकहाँ पनि गुनासो आएको बताए । ‘नापी कार्यालय सुनसरीले कोसी गाउँपालिका वडानम्बर १ लौकहीस्थित भूमिहीन सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गर्ने कार्य गरेको हो’ उनले भने, ‘त्यसरी निःशुल्क लालपुर्जा वितरण गर्दा मोटो रकमको चलखेल भएको गुनासो आएको छ, त्यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

दुई चरणमा १ सय १९ जनालाई लालपुर्जा वितरण गरिएकोमा त्यसमा रकमको चलखेल भएको गुनासो आएको हुनाले छानबिन गरी सत्य–तथ्य बाहिर ल्याएर दोषीलाई कानून बमोजिम कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकेको अध्यक्ष अन्सारीको भनाइ छ । यता पीडितका साथै कोसी क्षेत्रका जनप्रतिनिधि पनि ध्यानाकर्षण गराएपछि अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालयको पत्राचारअनुसार कोसी गाउँपालिका वडानम्बर १ लौकही गाउँ ब्लकका लालपुर्जा वितरण गर्ने समन्वय समितिका संयोजक निरञ्जन मण्डल र अर्का एकजना बौवा भन्ने राजकुमार मण्डललाई शुक्रबार लौकहीबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि दुवैजनालाई जिल्ला प्रशासन कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राजकुमार राईले जानकारी दिए ।  यसबारे जिज्ञासा राख्दा नापी कार्यालय सुनसरीका प्रमुख सञ्जीवकुमार साहले ब्लकको जग्गाको लालपुर्जा वितरण गर्दा रकमको चलखेल भएको गुनासो आएको हुनाले छानबिन गरी दोषी उपर कारबाही गर्ने प्रतिक्रिया दिए ।