काठमाडौँ  । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गएको एक वर्षमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका एक सय २५ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ ।

उनीहरूविरुद्ध ४३ वटा मुद्दा दर्ता गरेको सिआइबीका प्रवक्ता एसपी सञ्जयसिंह थापाले जानकारी दिए । विभिन्न कसूरमध्ये सबैभन्दा बढी ठगीको देखिएको उनले बताए । सिआइबीका अनुसार ठगीमा ७५ जना पक्राउ गरी उनीहरूविरुद्ध २६ वटा मुद्दा दर्ता गरिएको छ ।

जुवासम्बन्धी कसूरमा ११ जनाविरुद्ध दुई मुद्दा, नागरिकतासम्बन्धी एक जनाविरुद्ध एक, सङ्गठित अपराधमा दुई जना पक्राउ गरी एक मुद्दा दर्ता भएको सिआइबीले जनाएको छ ।

यस्तै खेलसम्बन्धी तीन जनाविरुद्ध एक, दूरसञ्चार हानिसम्बन्धी १४ जनाविरुद्ध दुई, सहकारी ठगीमा १४ जना पक्राउ गरी पाँच, लिखतसम्बन्धी चार जनालाई पक्राउ गरी तीन मुद्दा र राष्ट्र बैङ्क तथा बैङ्किङ कसूरमा एक–एक वटा मुद्दा दर्ता भएको जनाइएको छ । आर्थिक अपराध अनुसन्धानको सिलसिलामा आठ मुद्दा दर्ता भई ३९ जनालाई पक्राउ गरिएको जनाइएको छ । 

यस्तै लिखत, ठगी र वैदेशिक रोजगार र नागरिकता ऐनअन्तर्गतको कसूरमा १६ वटा मुद्दा दर्ता भई ५७ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको छ ।

वन्यजन्तु तथा वातावरणीय अपराध अनुसन्धानमा आठ अपरेसन सञ्चालन गरेर ३५ जनालाई पक्राउ गरी कानूनी कारबाहीका लागि सम्बन्धित डिभिजन वन कार्यालयमा बुझाइएको छ । मुद्दा फैसलातर्फ सजाय ठहर भई फरार रहेका विभिन्न एक सय २५ जना प्रतिवादीलाई पक्राउ गरी ३० करोड छ लाख जरिबाना असुल र एक सय २९ वर्ष कैद सजाय फस्र्यौटका लागि अदालतमा पठाइएको छ । 

अपराध नियन्त्रण चुनौतीपूर्ण

समाजको विकासक्रमसँगै अपराधको कार्यविधि र त्यसमा प्रविधिको प्रयोग बढ्दै गएको वर्तमान सन्दर्भमा अपराध गर्ने शैली र आपराधिक गिरोहको सञ्जाल देश विदेशसम्म विस्तार भइरहेकाले अपराध अनुसन्धानकार्य थप चुनौतीपूर्ण हुँदै गइरहेको सिआइबीको निष्कर्ष छ । आपराधिक घटना र तथ्याङ्कको ग्राफ उकालो लागेसँगै अपराध अनुसन्धान कार्य प्राविधिकरूपमा अझै जटिल हुँदै गइरहेको प्रवक्ता थापाले बताए । 

यस्तै सिआइवीले ज्यानसम्बन्धी कसूरको शङ्कास्पद घटनामा सफल अनुसन्धानमार्फत् २६ व्यक्ति पहिचान गरी कारबाहीको दायरामा ल्याएको जानकारी गराएको छ ।