कोशी राजमार्ग अन्तरगत धरान–इटहरी क्षेत्रकाे चारकोशे जङ्गल क्षेत्रमा लुटपाट भएको छ । धरानबाट इटहरी तर्फ जाँदै गरेका एक जनालाई गोली हानी लुटपाट भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार लुटपाट हुनेका  विराटनगर ५ का २८ वर्षीय रोहित चौधरी रहेका छन् । चौधरी धनकुटाबाट विराटनगर घर तर्फ जाँदै गर्दा,  हतियार धारी समूहले उनी माथि लुटपाट गरेको बताइएको छ । लुटेरा समूहले चौधरीलाई गोली प्रहार गरेर उनको मोबाइल र पैसा लुटेको  प्रहरीले जनाएको छ । 

गाेली लागि घाइते भएका चौधरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको  प्रहरीले जनाएको छ । प्रतिष्ठानस्थित अस्थायी प्रहरी पोस्टमा कार्यरत एक प्रहरीले भने 'गोली हानेर लुटपाट भएको भनेर ६ बजे यहाँ ल्याइएको छ । अवस्था गम्भीर छ । कहाँ गोली लागेको हो भन्ने हेर्ने अवस्था पनि छैन । 'इलाका प्रहरी कार्यालयका प्रमुख, डिएसपी नवराज मल्लका अनुसार  सेउती पुलदेखि दक्षिण पानीपियामा माेटरसाइकल राेकी पानी खान खाेज्दा आक्रमण भएकाे थियाे । 

चौधरीसँगै  यात्रा गरिरहेकी सुमना खत्रीले  तीन जनाको लुटेराको समूहले उनीहरूमाथि अक्रमण गरेकाे बताएकी छन् । उनका अनुसार २ जनाको खुकुरी र एक जनाले बन्दुक बोकेका थिए ।